सुरेन्द्र सिंह
बर्दिबास, ७ कार्तिक । महोतरीमा चोरी र डकैतीको घटनाले आतंक मचेको छ । पालैपालो विभिन्न ठाउँमा चोरी-डकैती हुँदा स्थानीय आतंकित बनेका हुन् ।
बर्दिबास नगरपालिका ९ स्थित पशुपतिनगरमा भएको चोरीको घटना सेलाउन नपाउँदै फेरी अर्को चोरी भएको छ । पशुपतिनगरका अशोक महतो र हरेराम महतोको घरमा बिहीवार राति चोरी भएको ईलाका प्रहरी कार्यलय बर्दिबासका प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए ।
अशोक महतोको घरबाट नगद ५० हजारसहित घरेलु सरसामान चोरी भएको प्रहरी निरीक्षक साहले बताए । चोरले केहि चोरी गरिएको घरेलु लता–कपडा भएको पेटी घटना स्थलबाट पर खेतमा भेटिएको बताइएको छ ।
बिहिबार बिहान खबर पाएलगत्तै इलका प्रहरी कार्यालय चौलिखा र सशस्त्र प्रहरी बेश क्याम्प पशुपतिनगरको टोलीले घटनास्थल पुगि अनुसन्धान सुरु गरेको छ ।
यसअघि बर्दिबास नगरपालिका–९ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा सीसीटिभी क्यामेराको निगरानीबाट ताल्चा फोडेर विद्यालयको कम्पुटर कक्षाबाट १५ थान कम्पुटर, १ थान प्रोजेक्टर, ३ थान राउटर र १ थान मल्टि बोर्ड चोरी भएको थियो ।

