७ कार्तिक । बंगलादेशको अदालतले एक छात्रा जलाएर मारेको घटनामा १६ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
शिक्षक समर्थित समूहले यौन दुर्व्यवहारको आरोप लगाएकी १९ वर्षकी छात्रा नुसरत जहान राफीलाई जिउँदै जलाइएको थियो । नुसरतको गएको अप्रिलमा हत्या भएको हो । राजधानी ढाकाबाट १६० किलोमिटर पर रहेको फेनीमा उनको शव फेला परेको छ ।
उनले विद्यालयलका प्रधानाध्यापक सिराज उद दोउलाले आफूसहित अरु कम्तिमा दुई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसको ११ दिनपछि (अप्रिल ६) उनी विद्यालय भवनको छतमा जलेको अवस्थामा भेटिएकी थिइन् ।
विद्यालयका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि उनलाई सो आरोप फिर्ता लिन दबाब दिइएको थियो । नमानेपछि दबाब दिने समूहले उनलाई जलाएका हुन् । आगो लगाउनेहरुले आत्महत्या जस्तो देखाउनका लागि नुसरतलाई उद्धार गरेको नाटक गरेको प्रहरीले उल्लेख गरेको छ ।
शरीरको ८० प्रतिशत भाग जलेकी नुसरतको अप्रिल १० मा निधन भएको थियो । नुसरतको हत्यापछि बंगलादेशमा लगातार प्रदर्शन भएको थियो । अदालतले सो द्रुत गतिमा सुनुवाई सकेर फैसला सुनाएको हो ।