जनकपुरधाम, ७ कार्तिक । समाजवादी पार्टीको उपाध्यक्ष तथा संघीय संसद रेणु यादवले मंसिरको पहिलो हप्तासम्ममै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसंग एकता हुनसक्ने बताएकी छन् ।
प्रदेश २ सरकारद्वारा जनकपुरस्थित मधेस भवनमा दीपावली र छठको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘एकताको कुरा धेरै अगाडि बढिसकेको छ। देवीदेवतासँग प्रार्थना गर्दछु कि पार्टी एकता गर्न सबैलाई शक्ति प्रदान गरून ।’
कार्यक्रममा सम्बोधनको क्रममा नेतृ यादवले राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीलाई समाजवादी पार्टीका केन्द्रीय सदस्य नै भनेर सम्बोधन गरेकी थिइन् । तर, पछि उनले सच्याउँदै भनिन्, ‘सरी । भण्डारी ज्यू अहिले राजपा अध्यक्ष मण्डलको सदस्य हुनुहुन्छ। तर, हामी चाँडै एक हुँदैछौं ।’