जनकपुरधाम, ८ कार्तिक। जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया स्थित ४० वर्षीय मुकेश साहलाई गोली हानी हत्या गर्ने पञ्कज चौधरीमाथि दुई वटा मुद्दा दर्ता भएको छ ।
बुधबार विहान लेनदेनको विषयमा विवाद हुँदा चौधरीले आफ्नै घरमा जनकपुरधाम उपमहानगरपालिका–१ का मुकेश साहको गोली हानेर हत्या गरेका थिए । मृतक मुकेशको बुबा जिवछ साहले घटनाकै दिन कर्तव्य ज्यान मुद्दा दर्ता गराई शव बुझेर दाहसंस्कार गरेका हुन् । हत्या गर्ने चौधरीमाथि प्रहरीको तर्फबाट हात हतियार तथा खरखजना र पीडित पक्षले कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो ।
प्रहरीले चौधरीमाथि दुई वटा मुद्दा दर्ता चलाएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए । ‘घटनाको प्रकृति र हत्या गर्ने पञ्कज चौधरीको साथबाट भेटिएको हतियारको अधारमा अपराधिक गतिविधिको व्यक्ति रहेको प्रहरीको आशंका छ,’ उनले भने,‘कतिपय प्रमाण पनि फेला परेको छ । अरु अनुसन्धान भइरहेको छ ।’
हत्या गर्ने चौधरीलाई कानुनी प्रावधान अनुसार दश वर्ष देखि जन्मकैद सम्म सजाय हुन सक्ने प्रहरी उपरीक्षक कार्कीले बताए । मृतक मनोज साह लक्ष्मिनियाँ गाउँपालिका–४ सपहीमा शिव आयल स्टोर्स सञ्चालक थिए भने हत्या गर्ने चौधरी निमार्ण व्यवसायी थिए । दुवै जनाबीच लेनदेनको विषयमा विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
हत्या गरी छिमेकीको घरमा लुकेर बसेको चौधरीलाई प्रहरीले घेरा होलेर घटनाकै दिन नियन्त्रणमा लिएको थियो । चौधरीको साथबाट प्रहरीले एउटा अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १९ राउण्ड गोली तथा एउटा नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोलीसमेत बरामद गरेका थिए ।-आजको जनकपुर टुडेमा यो खबर छापिएको छ ।