प्रदेशको नामांकरण छिटो होस् : उपेन्द्र यादव


जनकपुरधाम,८ कार्तिक। प्रदेश २ सरकारले शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर बिहीबार मधेश भवनमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

मुख्यमन्त्री, मन्त्रीहरु, सांसद, स्थानीय तहका जनप्रतिनिधी, सुरक्षा अधिकारी, कर्मचारीहरुको सहभागिता रहेको शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथी थिए संघीय सरकारका उप प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव ।

कार्यक्रममा बोल्दै समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष समेत रहेका यादवले प्रदेश २ मा लागेको ‘दुई नम्बरी ट्याग’ लाई चाँडो हटाउन प्रदेश सरकारलाई सुझाव दिए । अध्यक्ष यादवले प्रदेशलाई ‘दुई नम्बरी ट्याग’ बाट चाँडो मुक्त गर्नका लागि यथासम्भव चाँडो प्रदेशको नामांकरण गर्नुपर्नेमा जोड् दिए । ‘जति छिटो हुन्छ, प्रदेशको नाम तोक्नुस’ मुख्यमन्त्री र मन्त्रीहरुतर्फ हेर्दै उनले भने, “यो काम जति छिटो हुन्छ, सबै मिलेर लागौं ।”

यादवले प्रदेशको नामांकरण गर्दै विकास र समृद्वितर्फ अगाडि बढाउनुपर्नेमा जोड् दिए । ‘विकास र समृद्वितर्फ प्रदेश सरकारलाई ध्यान दिनु जरुरी छ’ उनले भने, “प्रदेश सरकारले सबैको मन जित्दै अघि बढ्नु आवश्यक छ ।”

उनले उपभोक्ता समिति मार्फत् काम गराउनुभन्दा अधिक भन्दा अधिक जनतालाई सहभागी गराएर विकासीय काम गराउन सुझाव दिए । ‘यसो गर्दा विकास द्रूत गतिमा हुन्छ । र, सबैले अपनत्व महसुस गर्छन’ उनले भने, “यसतर्फ गम्भीर भएर ध्यान दिनु जरुरी छ ।”

उनले यो प्रदेशलाई समृद्व बनाएर अरु प्रदेशलाई देखाउनु जरुरी रहेको बताउँदै यहीं प्रदेशको बलमा संघीयता टिकेको बताए । ‘यहीं प्रदेशको बलमा संघीयता टिकेको छ’ उनले भने, “यसर्थ संघीयता मजबुत बनाउनु जरुरी छ ।” चीनका राष्ट्रपति सि जिनपिङ्ग नेपाल भ्रमणमा आउँदा आफ्ना देशको विकासको बारेमा सुनाएको कुरा दोहो¥याउँदै यादवले भने, “जसरी चीनमा बनाइएको योजना पूर्ण रुपमा कार्यान्वयन गरिन्छ, त्यसरी नै गर्नुस् । र, अगाडि बढ्नुस् ।”

प्रदेश २ सम्भावनायुक्त र श्रोतसाधनयुक्त प्रदेश भएकाले सबै मिलेर अगाडि बढेमा यहाँको शिक्षा, स्वास्थ्यका साथै विकास पनि तिब्र गतिमा हुने बताए । अध्यक्ष यादवले सामाजिक, आर्थिक, राजनीतिक रुपले र भाषिक, सांस्कृतिक रुपले सदियौंदेखि अपहेलित, अपमानितहरुलाई पूर्ण अधिकार दिनुपर्ने बताए । उनले सबै मिलेर यहाँको विकासका लागि काम गरे त्यहीं नै ठूलो शुभकामना हुने बताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामांकरण चाँडै गरिने बताए । उनले प्रदेश सभामा प्रस्ताव गइसकेको बताउँदै प्रदेशको नाम अबिलम्ब घोषणा हुने बताए । मुख्यमन्त्रीले प्रदेशको नाम ‘मधेश’ नै घोषणा हुने सुनाए । प्रदेशसभामा सत्तासिन समाजवादी र राजपाले प्रदेशको नाम मधेश, नेकपाले जानकी र नेपाली कांग्रेसले मिथिला–भोजपुरा हुनुपर्ने भन्दै प्रस्ताव पेश गरेको छ ।

मुख्यमन्त्री राउतले यस्तो दावी गरेपनि नामांकरणका लागि चाहिने आवश्यक दुई तिहाई कुनै पनि दलसँग छैन् । शुभकामना आदान–प्रदान कार्यक्रममा प्रदेशका प्रमुख रत्नेश्वरलाल कायस्थ, मन्त्रीहरु, सांसदहरु, स्थानीय तहका जनप्रतिनिधीहरुm, बिभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधीहरुले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी हुन प्रदेश अन्तर्गतका आठ वटै जिल्लाबाट जनप्रतिनिधी, राजनीतिक दलका नेताहरु जनकपुरधाम आएका थिए । कार्यक्रममा प्रदेश २ का कलाकारहरुले गीत र नृत्य प्रस्तुत गर्दै शुभकामना आदान–प्रदान कार्यक्रमका सहभागीहरुलाई मनोरंजन गराएका थिए । मधेश भवनमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।- -आजको जनकपुर टुडेमा यो खबर छापिएको छ ।

प्रकाशित : 25 October 2019 3:09 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ