पर्सा, ८ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हुन्डी कारोबारमा संलग्न ६ जनालाई झन्डै २९ लाख अवैध रकमसहित पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
विभिन्न मितिमा गरेका अप्रेशनका क्रममा वीरगञ्ज महानगरपालिका १६ बस्ने भारतको विहार मोतिहारी थाना रामगढवा–१६ बस्ने कृष्णमोहन कलवारलाई ५ लाख ८३ हजार ५ सय ६० नगदसहित पक्राउ गरेको छ ।
यस्तै, ५ थान मोवाइल र १० लाख नगदसहित बारा खटुवा प्रसौनी–२ का वीरेन्द्र साह, बारागढी–२ का शनि जैसवाल, भारतको रामगढवा थानाग्रामका सकिर मियालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
साह र जैसवालका साथबाट जनही २ लाख ५० हजार तथा मियाँको साथबाट ५ लाख रुपैंया नगद जफत गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
यता, विहारको पूर्वी चम्पारण थाना सुगौली–८ का गोपालप्रसाद अग्रवाललाई नौ लाख तथा वीरगञ्ज महानगरपालिका–१४ का मन्टुकुमार साह कानुलाई ४ लाख ५० हजारसहित पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान जारी रहेको राठौरले जानकारी दिए ।