एजेन्सी, ९ कार्तिक । इंग्लिस क्लब लेइस्टर सिटीले प्रिमियर लिगमा सबैभन्दा ठूलो जीतको २४ वर्ष पूरानो रेकर्डलाई बराबरी गरेको छ । सेन्ट मेरिजमा भएको खेलमा लेइस्टरले १० जनामा सिमित साउथह्यामटनलाई ९–० ले ध्वस्त बनायो ।
जितसँगै ब्रेडन रोजर्सको लेइस्टर दोस्रो स्थानमा उक्लिएको छ । यसले म्यान्चेस्टर सिटीलाई पछाडि पारेको छ । सन् १९९५ मा म्याचेस्टर युनाइटेडले इप्सविचविरुद्ध ९–० को फराकिलो जित निकालेको थियो ।
साउथह्याम्पटनको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भर्डी र आयोजे परेजले ह्याट्रिक गरे । यस्तै बेन चिलवेल, युरी टेलिमान्स र जेम्स म्याडिसनले एक एक गोल गरे । खेलको १२ औं मिनेटमै रायन बेरट्राण्डले रातो कार्ड पाउँदा घरेलु टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।