जनकपुरधाम, ९ कार्तिक। जातीय बैठकमा उपस्थित नहुने गरेको भन्दै माइनजनले गरेको जरिबाना नदिएपछि जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाका गौरी मुखिया घरबाटै विस्थापित भएका छन् ।
माइनजन प्रदिप मुखिया र देवशरण मुखिया र उनका समूहले गौरीलाई ज्यान मार्ने धम्की दिएपछि गौरी विस्थापित भएका हुन् । उनी विगत पाँच दिनदेखि जनकपुरमा बस्दै आएका छन् । मलाई मार्न गाउँका केहि युवालाई १÷१ हजार रुपैया भत्ता दिएर परिचालन गरेको गौरी बताउँछन् । पीडित गौरी भन्छन्, ‘सुरुमा मेरो चार घरपरिवारलाई बहिष्कार गर्यो । भोज खानबाट रोक लगयो । मेरो छोराछोरी वा परिवारसँग बोल्नेलाई जरिबाना लिने निर्णय पनि गर्यो । तर अहिले अब ज्यानै लिने निर्णय गर्दा विस्थापित हुनु परेको छ ।’
केहि दिनअगाडी स्थानीय बिरेन्द्र मुखियाकी सासु (नाम थाहा नभएको)को निधन भयो । उनले सामाजिक रितिरिवाज अनुसार सभाको (८ गाउँको) भोज आयोजना गरे । उक्त भोजमा बसैहियाबासी सहभागी भएनन् । भोजमा बसैहियाबासी नआएपछि गौरी मुखियाले नै भाँडेको जातीय माइनजन र केहि अगुवाले आरोप लगाए । र गौरी मुखियालाई उनीहरु विभिन्न खालका टर्चर दिन थाले । तरपनि गौरी वास्ता गरेनन् । पछि त उनीहरु ज्यान मार्न नै केहि व्यक्तिलाई परिचालन गरेपनि गौरी विस्थापित हुन पुग्यो ।
स्थानीय श्रीचन मुखियाले गौरीलाई बहिष्कार गर्नुका साथै गाउँबाटै लखेटेर भगाउनु गलत भएको बताए । उनले आफू उनीहरु (माइनजन समूह)लाई पटक पटक सम्झाए पनि नटेरेको बताए । उनले भने, ‘उनीहरु त गौरी अपराधि हो । यसलाई मार्नैपर्छ भनिरहेका छन् ।’
विस्थापित भएका गौरीले ज्यान मार्ने धम्की दिएकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् । दुई दिन अगाडी उजुरी दिएपछि सिडिओ साहेबले घटनाबारे बुझ्न र दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्र काटेको छ । तर धम्की दिनेहरुलाई अझै पक्राउ परेका छैन ।