जनकपुरधाम, १० कार्तिक । धनुषाको ग्रामिण क्षेत्रमा आज धुमधामका साथ हनुमान जयन्ती मनाइएको छ । हनुमान आराधना कीर्तन मण्डली कमलानगर नगरपालिका ८ ले बिहानैदेखि विभिन्न प्रकारका झाकीसहित हनुमान जयन्ती मनाएका हुन् ।
मण्डलीले निकालेको झाकीले शहिदनगर र कमलानगर नगरपालिकाको विभिन्न गाउँको परिक्रमा गरेको छ । सो क्रममा झाकीलाई ठाउँ-ठाउँमा स्वागत गरिएको छ । झाकीमा ठुलो संख्यामा साधुसन्त र सर्वसधारणको उपस्थिति रहेको थियो ।
शहिदनगर नगरपालिका ८ मा हनुमान जयन्तीको अवसरमा निकाएको झाकीमा सहभागी सन्तहरुलाई समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले स्वागत तथा सम्मान गरेका छन् । सचेतक अरगरियाले झाकी संगसंगै गाउँमा परिक्रमा गरेका थिए ।
चैत्र शुक्ल पूर्णिमाको अवसर पारेर हनुमान जयन्ती मनाइन्छ । हनुमान जयन्तीको तिथी कार्तिक कृष्ण चतुर्दशी र चैत्र शुक्ल पूर्णिमा दुवै दिनलाई मानिएको छ। हनुमान भगवान रामको भक्त थिए । हनुमानबाट भक्ति सिक्नका लागि अभिप्रेरित हुन हनुमान जयन्ती मनाइने गरेको साधुसन्तहरु बताउँछन् ।








