काठमाडौं, ११ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा । यो दिन प्रातःकालमा गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ ।
भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा बसेको पुराणहरूमा उल्लेख छ । गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत पार्न नहुने सन्देश पाइन्छ ।
गोवर्धनपूजाका अवसरमा देवालय तथा अन्य बाटाहरूमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने विधान छ । रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने सन्दर्भ आउँछ । यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ ।
उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी (द्यौसी) खेल्ने परम्परा छ । देउसीसँगै स्थान विशेषअनुसार बालन, खैंजडी भजन गाउने\खेल्ने चलन पनि छ । उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ ।
शुक्रबार नै गाई, गोरु पूजा पनि गरिँदैछ। गाई, गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छोडिदिने चलन छ। स्थानीय गाईको दूध बालकदेखि वृद्धसम्मका लागि उपयोगी मानिन्छ । दूधबाट बन्ने दही र घ्यु पनि पोषिला हुन्छन् । गोबर र गहुँतमा असाध्य रोग निको हुने अौषधीय गुण हुने बताइन्छ । गाईलाई सनातन हिन्दु समाजमा लक्ष्मीकै स्वरूप मानी पूजा गर्ने चलन छ।
यसैगरी नेपालजस्ताे पहाडी भू–भाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयाेगी जनावर हो । नेपाली समाजमा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधेको डोरो(रक्षासूत्र) यो दिन गाईका पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपश्चात् वैतरणी नदी तर्न सजिलो हुन्छ भन्ने लोकविश्वास छ।