राजविराज, १२ कार्तिक। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवाका सीताराम पण्डित (कुम्हार)लाई यतिबेला एकछिन बोल्ने फुर्सद समेत छैन ।
उमेरले ६१ वर्ष नाघिसकेका पण्डित बिहान उठ्नेबित्तिकै माटो संकलन गर्ने, मिलाउने र यसका अनेक सामग्री बनाउन व्यस्त हुन्छन् । छठ पर्वमा प्रयोग हुने दियो, माटाको हात्ती, मटकुरी (दही जमाउने भाँडो), धूपदानी लगायत भाँडावर्तन बनाउन र विक्री गर्न उनलाई अहिले भ्याइनभ्याई भएको हो ।
‘चाडपर्वको समय भएकाले अहिले धेरै नै व्यस्त छु,’ उनले भने । पुख्र्यौली यो पेशालाई निरन्तरता दिएरै आफ्नो परिवारको जीविकोपार्जन हुँदै आएको उनले बताए । तर यो पेशामा युवाहरूको लगाव नहुँदा बुढेसकालमा पनि आफूले काम गर्नुपरेको उनको गुनासो छ ।
काम अनुसार कमाइ नहुने भन्दै युवाहरूले माटोका भाँडा बनाउने पेशामा रुचि नदिएको उनको बुझाइ छ । यो पेशाको प्रवर्द्धन र संरक्षणका लागि सरकारको समेत ध्यान नपुगेको उनको गुनासो छ । व्यवस्थित र आधुनिक तरीकाले गर्ने हो भने यो पेशाबाट राम्रो आम्दानी हुने उनले बताए । ‘तर व्यवस्थित बनाउन पैसाकै आवश्यकता पर्छ, सरकारी स्तरबाट केही सहयोग छैन,’ उनले भने ।
युवाहरूमा देखिएको आत्मविश्वासको कमीले भविष्यमा यो पेशा नै संकटमा पर्ने चिन्ता बढेको पण्डितले बताए । ‘हाम्रो पुस्तासम्म त चलेकै छ, तर अबको पिढीले यो पेशालाई निरन्तरता दिने छाँटकाँट देख्दिनँ,’ उनले भने । सखुवाकै ६२ वर्षीय बद्री पण्डितको चिन्ता पनि यस्तै छ । बिहीवार दिउँसो माटाका भाँडा बनाउन व्यस्त उनले मुलुकमा तीन तहको सरकार भए पनि आपूmहरूको पेशा संरक्षणमा कतैबाट सहयोग नभएको नभएको गुनासो गरे । ‘गाउँगाउँमा सिंहदरबारको अधिकार आएपछि केही हुन्छ भने आशा थियो,’ उनले भने, ‘तर स्थानीय सरकारले पनि कुम्हार समुदायको पेशा जोगाउन कुनै कार्यक्रम ल्याएन ।’