गौर, १२ कार्तिक । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद बढाउने षड्यन्त्र भइरहेको बताएका छन् । पार्टीकै केहि नेता यस्तो षड्यन्त्रमा लागेर पार्टी एकता विफल बनाउने प्रयास गरिरहेको समेत उनले बताएका हुन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिका ७, घुसुकपुरमा दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा मंगलबार नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय साँसद समेत रहेका उनले यस्तो बताए । उनले पार्टीका दुई अध्यक्षबीच कुनै विवाद नरहेको स्पष्ट पारे । उनले विवाद बढाउने तत्वहरुबाट पार्टी र कम्युनिष्ट आन्दोलनलाई जोगाउन समेत आग्रह गरे ।
पार्टीका दुई अध्यक्षबीच विवाद आउन सक्ने खालका गतिविधिमा दिनरात केहि व्यक्ति लागेको भन्दै अध्यक्ष साहले देशलाई समाजवादतर्फ डोर्याउन लाग्नुभएका अध्यक्षद्वयविरुद्ध प्रतिक्रियावादीहरु लाग्नु स्वाभाविक भएको तर्क गरे । उनले नेकपाकै केही नेता त्यस्तो काममा लागेको देख्दा अचम्म हुनुपरेको समेत बताए ।