राजविराज, १३ कार्तिक । उप–प्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले असमानता र विभेद अन्त्य नभएसम्म आर्थिक विकास नहुने बताउनुभएको छ ।
सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिकास्थित हनुमानगर बजारमा आज समाजवादी पार्टी नगरसमितिले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपालमा आर्थिक समृद्धिका लागि कृषिमा लगानी गरी यस क्षेत्रलाई आधुनिकीकरण गरी सिँचाइ सुविधा हुनुपर्ने बताउनुभयो ।
नेपाल पानीको धनी देश भए पनि यहाँ समृद्धि गर्न विद्युत् उत्पादन गरिएमा यहाँ उत्पादन भएका विद्युत् अरू मुलुकमा बिक्री गरिएमा आर्थिक समृद्धि हुने समाजवादी पार्टीका अध्यक्षसमेत रहनु भएका यादवको जोड थियो । पर्यटनका क्षेत्रमा पनि नेपाल अगाडि रहेको बताउँदै उहाँले अरू मुलुकको तुलनामा गरिबी र भुकमरीका कारण पछाडि परेको बताउनुभयो ।
मधेशमा विकासका लागि शिक्षामा सुधार गनुपर्ने बताउँदै उहाँले असल शिक्षा भए मात्र विकासको गति अघि बढ्ने बताउनुभयो । प्रत्येक नागरिकको प्राथमिक स्वास्थ्य उपचार आवश्यक रहेकामा जोड दिँदै मन्त्री यादवले प्रत्येक वडामा स्वास्थ्य चौकी र नगरपालिका र गाउँपालिकामा अस्पताल स्थापना हुनुपर्ने बताउनुभयो ।
गरिब वर्गका लागि निःशुल्क उपचार गराउनुपर्ने बताउँदै उहाँले ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्य बीमा कार्यक्रम ल्याएर भए पनि उसको सबै पैसा खर्च सरकारले नै तिर्ने बताउनुभयो ।
यस्तै सोही कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारको काँधमा काँध मिलाएर हामी अगाडि बढाइरहेको बताउनुभयो । उहाँले सङ्घीयतामा प्रदेशको अधिकार हुनुपर्ने तर यसमा पनि कमी भएको आरोप लगाउनुभयो । मुख्यमन्त्री रावतले मधेशको मुस्लिम आदिवासी, जनजाति, दलित पिछडा वर्ग लगायतकाहरुको अधिकारका लागि समाजवादी पार्टी लागिपरेको बताउनुभयो ।
प्रदेश सरकारले महिलाहरुको शिक्षामा पहुँच हुने गरी ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान नै ल्याएको बताउनुभयो । २ नं प्रदेशअन्तर्गत गत २०७५ साल माघ महीनादेखि नै लागू हुनेगरी जन्मिने बेटीलाई प्रदेश सरकारले रु एक लाख २५ हजारको बीमा गर्ने गरेको पनि बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ शिक्षा, स्वास्थ्य र कृषि लगानीमा पछाडि परेको बताउनुभयो ।
नगर समितिका अध्यक्ष वीरेन्द्र माझीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेकपा, नेपाली काङ्ग्रेसलगायत अन्य पार्टी परित्याग गरी एक हजारभन्दा बढीको सङ्ख्यामा समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।