धनुषामा बसको ठक्करबाट पूर्व सांसद महतोको मृत्यु


जनकपुरधाम, १५ कार्तिक । सवारी दुर्घटनामा परी धनुषामा एकजना पूर्व सांसदको मृत्यु भएको छ । शुक्रवार दिउंसो जिल्लाको मिथिला नगरपालिका २ विश्वकर्मा चौकमा यात्रुबाहक बसको ठक्करबाट बटेश्वर गाउँपालिका १ भुईचक्रपुर निवासी पुर्व सांसद ६० वर्षिय रामलखन महतोको मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन् ।

सांसद महतो साईकलमा सवार भई गइरहेको क्रममा विपरित दिशाबाट आइरहेको बा ५ ख ८८५ नम्बरको बसले ठक्कर दिदाँ उनी घाइते भएको थियो । घाइते महतोको उपचारको क्रममा जनकपुरधाम स्थित जानकी हेल्थ केयर अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक खनालले जनाएको छ । घटना पश्चात ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सांसद महतोले वि.सं. २०५१ सालको मध्यावधि चुनावमा पुर्व राष्ट्रपति डा. रामवरण यादवलाई हराउंदै तात्कालिन धनुषा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । पूर्व सांसद महतो हाल धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा होमियोपैथिक क्लिनिक संचालन गरी बस्दै आएका थिए । घटना पश्चात सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले बसको सिसा समेत फुटाएका छन भने केही बेरसम्म चक्काजाम समेत गरेको थियो ।

अवस्था तनावग्रस्त बन्दै गएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले स्थानीयलाई दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि चक्काजाम खोलिएको थियो ।

प्रकाशित : २०७६ कार्तिक १५, शुक्रबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ