सरकारी कार्यालयभित्रै क्रुर घटना : महिला कर्मचारीकाे ज्यूँदै जलाई हत्या


काठमाडौं, १९ कार्तिक । नेपालका एक सांसदले ज्यूँदै कामदारलाई इँटाभट्टामा जलाएको मुद्दामा बहस चलिरहेका बेला छिमेकी देश भारतमा यस्तै क्रुर घटना घटेको छ ।

भारतको दक्षिणी राज्य तेलङ्गानामा सम्पत्तिसम्बन्धी विवादमा एक महिला राजश्व अधिकारीलाई ज्यूँदै जलाएर हत्या गरिएको छ । विजया रेड्डी नामक ती महिला अधिकारीलाई सरकारी कार्यालयभित्र सोमवार जिउँदै जलाएर हत्या गरिएको छ । उनलाई जोगाउन खोज्ने एक अर्का पुरुष कर्मचारीको पनि मङ्गलबार उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीले शंकास्पद आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ । सोमवार दिउँसो अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो ।

उनकै कार्यालयमा भेट्न आएका के सुरेश नाम गरेका व्यक्तिले आक्रमण गरेको प्रहरीको भनाइ छ । रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए ।

घटनाको विरोध गर्दै तेलङ्गानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको सङ्गठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको खबर बीबीसीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार १२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ