‘अटोमेटिक’ पेस्तोलसहित दुई युवक प्रहरी फन्दामा


चितवन, २८ कात्तिक। चितवनमा अवैध हतियारसहित दुईजना पक्राउ परेका छन् । राप्ती नगरपालिका–६, हर्दीबाट बिहीबार बिहान एकथान पेस्तोल, एकथान म्यागजिन र पाँच राउन्ड गोलीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२, धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी छन् । इलाका प्रहरी कार्यालय भन्डाराबाट रात्रिगस्तीमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार हर्दीमा बा ८५ प ८०८४ नम्बरको मोटरसाइकल रोकी उनीहरु शंकास्पदरुपमा हिँडिरहेका थिए । प्रहरीलाई देख्नासाथ भाग्न खोजे । प्रहरीले सोहीबखत् दुवैजनालाई नियन्त्रणमा लियो । त्यसपछि खानतलासी गर्दा उनीहरुको साथबाट ‘मेड इन युएसए’ लेखिएको र पाँच राउन्ड गोली ‘लोड’ भएको उक्त ‘अटोमेटिक’ पेस्तोल बरामद गरेको जनाइएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : 14 November 2019 10:27 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ