सप्तरीमा अध्यक्ष विरुद्ध विरोध सभा


राजविराज, २९ कार्तिक । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले ५ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाउँदै शुक्रबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा विरोध सभा सम्पन्न गरिएको छ।

गाउँपालिका कार्यालय हाताभित्रै आयोजित विरोध सभामा उपाध्यक्ष सुचिता कुमारी यादवसमेत सहभागी थिइन्। विरोध सभामा भ्रष्टाचारको ढाकछोप गर्न गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत राजिव झाको सरुवामा चलखेल गरेको वक्ताहरूले आरोप लगाएका छन्।

दुई महिनाअघि सप्तरीकै राजगढ गाउँपालिकाबाट सरुवा भई आएका झाको बुधबार मात्रै सिरहाको जिल्ला समन्वय समितिको कार्यालयमा सरुवा भएको छ। सभामा सरुवा गरिएका अधिकृत झाको सरुवा बदर गर्न र गाउँपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ।

गाउँपालिकामा भएको भ्रष्टाचार रोक्न झाले प्रयास गरेको भन्दै वक्ताहरूले त्यसबाट जोगिन अध्यक्ष सिंह लगायतले सरुवाको लागि चलखेल गरेको उनीहरूको भनाइ छ। ‘अधिकृत झा मार्फत् ५ करोडभन्दा बढीको भ्रष्टाचारको फाइल अख्तियारमा पुगेका छ,’ गाउँपालिका अध्यक्ष पदका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुण मण्डलले भने, ‘आफनो हुर्मत लिने सम्भावना बढेपछि अध्यक्ष आफैं मन्त्रालय धाएर झाको सरुवा गराए।’

प्रमुख प्रशासकीय अधिकृत झालाई गाउँपालिकाको खाता सञ्चालन समेत गर्न नदिइ चार महिनादेखि कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता समेत रोकेको बताएका उनले छिट्टै कर्मचारीको तलब तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग गरे।

तत्कालीन वभनगामा कट्टि गाविसका अध्यक्ष जिवछलाल मण्डलको अध्यक्षतामा आयोजित विरोध सभामा राजपा नेपालका जिल्ला उपाध्यक्ष निरज कुमार झा, राप्रपा संयुक्तका सहअध्यक्ष निसान सिंह, नेकपाका नेता मुकेश यादव, राजपा नेपालका गुड्डु सिंह, समाजवादी पार्टीका सत्यनारायण मुखिया लगायतले पनि गाउँपालिकामा अध्यक्ष सिंहले गरेको भ्रष्टाचार छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरे।

उनीहले भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण गराएका छन्। साभारः नेपाल लाइभ

प्रकाशित : २०७६ कार्तिक २९, शुक्रबार १३:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ