राजपा सिरहामा भाँडभैलो, राजकिशोर समूह अलगै तदर्थ समिति बनाउँदै !


सिरहा, ४ कार्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सिरहामा भाँडभैलो मचेको छ । ६ पार्टी मिलेर बनेको राजपा सिरहामा राजकिशोर समूहले तदर्थ समिति गठन गर्न पठाएको निर्देशिका नमानेपछि पार्टीमा भाँडभैलो मचेको हो ।

सोमवार सिरहाको मिर्चैयामा राजपा अध्यक्ष मण्डलका सदस्य तथा सिरहा क्षेत्र नम्बर ४ का साँसद समेत रहेका राजकिशोर यादबले आफ्नै प्रमुख आतिथ्यमा अंजय साहलाई नगर अध्यक्ष बनाए । तर मंगलवार राजकिशोर बाहेकका पाँच अध्यक्षका प्रतिनिधिले मिर्चैया नगर अध्यक्ष ललन भन्ने धिरेन्द्र साहलाई बनाएपछि भाँडभैलोको रहस्य बाहिरिएको छ ।

राजकिशोर तर्फका संयोजक मो. मुस्ताक, केन्द्रिय सदस्यद्धय किशोरी यादब र शत्रुधन यादबले केन्द्रले पठाएको निर्देशिकामै असहमती जनाएका छन् । जिल्लामा कार्तिक १९ गते बसेको विस्तारित बैठकमा उनीहरु ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनीहरु सोही दिन जिल्लाभरीमा छुट्टै पार्टीको तदर्थ समिति गठन गर्ने चेतावनी दिएका थिए ।

स्रोतका अनुसार राजकिशोर समूहले कल्याणपुर र कर्जन्हाको कतिपय वडामा समेत छुट्टै तदर्थ समिति गठन गरेका छन् । उनीहरुले गठन गरेको ठाउँमा पनि राजकिशोर बाहेक महन्थ ठाकुर, अनिल झा, शरतसिंह भण्डारी, महेन्द्रराय यादब र राजेन्द्र महतो पक्षका नेताहरुले अलग तदर्थ समिति गठन गरेको बताइन्छ ।

राजकिशोरले केन्द्रको निर्देशिका विपरित तदर्थ समिति गठन गरिरहेको राजपा अध्यक्ष मण्डलका संयोजक रहेका महन्थ ठाकुर निकट मानिने सहमहामन्त्री सुरेन्द्र झाले आरोप लगाए । उनले भने, ‘चुनावमा टिकट पाएर निर्वाचित भएको वा नभएका नेताकै अध्यक्षतामा समिति गठन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । तर राजकिशोर समूहले निर्देशिका नै मान्न तयार छैन । र निर्देशिका विपरित तदर्थ समिति गठन गरिरहेको छ । यो गलत प्रबृति हो ।’

मिर्चैया नगरपालिकाको मेयरमा राजपाबाट रामकुमार मण्डल उम्मेदवार थिए । तर रामकुमारको अध्यक्षतामा राजकिशोर समूहले बैठक नै नगरी मनपरी किसिमले अंजय साहलाई नगर अध्यक्ष बनाएको सहमहामन्त्री झाले बताए । उनले आफुहरु रामकुमार जीको अध्यक्षतामा कार्यक्रम गरी ७१ सदस्यीय नगर समिति चयन गरेको दावी गरे ।

प्रकाशित : २०७६ मंसिर ४, बुधबार ०७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ