विवाह पञ्चमीमा ४ हजार सुरक्षाकर्मी परिचालन हुने, सिसि क्यामेराबाट निगरानी


जनकपुरधाम, ५ मंसिर । सिताराम विवाह पञ्चमी महोत्सवमा यसवर्ष झण्डै चार हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महोत्सवमा सहभागी हुने श्रद्धालुलाई सुरक्षाका लागि विवाह पञ्चमीको अवधिभर जनकपुरको सुरक्षा अवस्था कडा पारिने रणनीति प्रशासनले बनाएको हो ।

महोत्सव व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको सर्वपक्षी भेलामा धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले सुरक्षा प्लानबारे जानकारी गराएको हो । उनले २३ सय ३० जना जनपद प्रहरी, ११६ ट्राफिक प्रहरी र ७०८ जना शसस्त्र प्रहरी परिचालन गरिने जानकारी दिए । उनका अनुसार सादा पोसाकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन हुनेछ ।
एसपी खनालले महोत्सवमा सहभागीका लागि आउने श्रद्धालुको सुरक्षामा कुनै कसर बाँकी नराख्ने समेत बताएका छन् । विगतका वर्षहरुमा चोरी र लुटपाट समेत हुने जानकारी पाएकोले यस वर्ष सादा पोसाकमा समेत प्रहरी परिचालन हुने उनले बताए । संवेदनशिल १ सयभन्दा बढी ठाउँमा सिसि क्यामेरा समेत जडान गरी निगरानी गर्ने पनि उनको भनाई छ ।

भारतीय पाहुना जटही नाकाबाट आउने र उनीहरुको गाडी छ लेनमै रोकिने समेत एसपी खनालले बताए । उनले भने, ‘भारतबाट यसवर्ष जन्ती आउने भएकाले भिड बढ्ने हाम्रो अनुमान छ । त्यसैले उताबाट आउने सवारी साधनलाई छ लेनमै रोक्छौं । त्यसलाई अन्यथा कसैले नलिनुहोला ।’ तालिम प्राप्त कुकुर समेत परिचालन गर्छौ– उनले थपे ।

https://www.youtube.com/watch?v=MyHxLwSRqPU

उनले मंसिर १२ देखि १६ गतेसम्म परिक्रमा क्षेत्रमा माछा, मासु र मदिरा निषेध गरिने निर्णय समेत गरिएको जानकारी दिए । उनले जिल्ला प्रशासनले सुचना समेत जारी गरिसकेको भन्दै कसैले त्यसविपरित कार्य गरेमा कानून बमोजिम कारबाही गर्ने समेत बताए । सुरक्षाका लागि अपनाउनुपर्ने सम्पूर्ण तौरतरिका अपनाइने उनले बताए ।

महोत्सवमा सुरक्षाकर्मीका साथसाथ करिब ७ सय स्वयंमसेवक समेत परिचालन हुने भएको छ । एसपी खनालले भने, ‘विभिन्न संघसंस्था र राजनीतिक दलका युवा संगठनका युवाहरुलाई समेत परिचालन गर्ने तयारी गरेका छौं ।’ स्वयंमसेवकको सबै तथ्यांक राखिने र उनीहरु आवश्यक परेका बेला सल्लाह पश्चात सबै आवश्यक कदम चाल्न सक्छ– उनको भनाई थियो ।

भेलामा सहभागीहरुले घुम्ती शौचालय, खानेपानी र भारतबाट आउने जन्तीलाई बस्ने उचित व्यवस्था गर्न उपमहानगरपालिकाका मेयर लालकिशोर साहसँग आग्रह गरेका छन् । महोत्सवलाई भव्य बनाउन झाँकी समेत निकाल्न आग्रह गरिएको छ । यस्तै होटलमा बस्दा अत्यधिक महँगो कोठा भाडामा लिनुपर्ने बाध्यता रहेकाले छुट गराउन आवश्यक पहल गर्न समेत सुझाव दिएको छ ।

यसवर्ष मंसिर १५ गते विवाहपञ्चमी परेको छ । हरेक वर्ष ५ वर्षमा भारतको अयोध्योबाट आउने जन्ती समेत यसवर्ष आउने भएकाले महोत्सव विशेष हुनेछ । विवाह पञ्चमीलाई विशेष बनाउन जानकी मन्दिर समेत सक्रियता बढाएको छ ।

प्रकाशित : 21 November 2019 2:44 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ