बलात्कारीलाई फासीको माग गर्दै जनकपुरमा प्रहरी कार्यालय घेराउ


जनकपुरधाम, ५ मंसिर । धनुषाको हंसपुर नगरपालिका ४ मा एक युवतीलाई बलात्कार गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

गाउँबाट सयौँको संख्यामा आएका स्थानीय जनकपुरधामस्थित प्रहरी कार्यालय घेराउ गरेका हुन् । उनीहरूले बलात्कारमा संलग्न युवकलाई पक्राउ गरी फासी दिनुपर्ने माग गरेका छन् । प्रहरीले बलात्कार गर्नेमाथि मुद्दासमेत दर्ता गर्न आनाकानी गरेको उनीहरूको भनाइ छ ।

कात्तिक २९ गते राति घरमा कोही नभएको मौका छोपेर २० वर्षीया युवतीलाई स्थानीय २१ वर्षीय प्रविण कापरले बलात्कार गरेको उनीहरूको आरोप छ । आरोपी कापर घटनापछि फरार छन् । बलात्कृत युवतीलाई जनकपुरस्थित ओरेक नेपाल नामक संस्थाको सेफ हाउसमा राखिएको छ ।

घटनाको एक साता बितिसक्दा पनि प्रहरीले आरोपी कापरलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । प्रहरी कार्यालयमा धर्ना दिन आएका केही महिलाले बलात्कृत युवतीको इज्जत गइसकेको भन्दै बलात्कारी गर्नेसँगै विवाह गराइदिनुपर्ने माग पनि राखेका छन् ।

यता जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले प्रक्रिया नै पूरा नगर्दा उजुरी दर्ता नभएको बताए। पीडितकी आमाले उजुरी दिएर गएको तर हस्ताक्षर नै नगरेको र फोन गरी बोलाउँदा आउनै नमानेको उनले बताए ।

प्रकाशित : २०७६ मंसिर ५, बिहीबार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ