ओली सरकार भ्रष्टाचार, कमिसनखोर, अपराधी संरक्षणमा लिप्त : डा. भट्टराई


पोखरा, ९ मंसिर । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सीमा अतिक्रमण विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद शिवाय अन्य केही नभएको टिप्पणी गरेका छन् ।

समाजवादी पार्टीको चुनावी सभालाई पोखरामा आइतबार सम्बोधन गर्दै डा भट्टराईले त्यसबेलाका महेन्द्रदेखि अहिले केपी ओलीले भित्रभित्र विदेशी शक्तिसँग मिलेर देशको भूमि सुम्पिने काम गरेको समेत लगाए । उनले भने, ‘लाछी बाहुनले आफ्नो घरमा आएर ढाल ढकाएजस्तो, बाहिर राष्ट्र ठूलो डंका पिट्ने र भित्रभित्र भने सत्ताको डरले लत्रक्क पर्ने चरित्र ओलीमा रहेको छ । ओलीको नक्कली राष्ट्रवादबाट कहिले मुक्ति हुने रु’

ओलीले सीमा सुरक्षाको विषयमा कसैले थाहा नपाउने गरी ‘डिप्लोमटिक नोट’ (कर्मचारीले लेख्ने नोट) मात्र लेखेको र त्यो बाहेक अन्य राजनीतिक पहल नगरेको डा. भट्टराईले बताए । उनले ओलीको जस्तो अन्धराष्ट्रवादबाट होइन, सुगौली सन्धीले निर्धारण गरेको भूमिको रक्षा र स्वाधिनताको रक्षा आफूहरुले गर्ने बताए ।

उनले सीमा अतिक्रमणको बेला दुई उपाय गर्न सकिने भन्दै उनले ओलीलाई सुझाए, एउटा भनेको बलियो देशले आफ्नो सेना प्रयोग सीमाबाट विदेशी शक्ति हटाउने र अर्को भनेको कुटनीतिक पहल गर्ने । आफ्नो दलले पनि ओलीलाई उच्चस्तरीय वार्ताको लागि पहल गर्न सुझाव दिएको बताए । उनले भने, ‘यो समस्या सचिवस्तरको संयन्त्रले हल गर्न सक्दैन । राज्यस्तरको वार्ता अघि बढाउनुपनुपर्छ । ओलीले सिधै मोदीसँग टक गर्नुपर्छ ।’

उनले उपनिर्वाचनबारे धारणा राख्दै यो देशमा नेकपा र काँग्रेस फेल भइसकेको र तिनीहरुको विकल्प समाजवादी पार्टीमात्र भएको दाबी गरे । उनले भने, ‘सरकार भ्रष्टाचार, कमिसनखोर, अपराधी संरक्षणमा लिप्त छ, यस्तो अवस्थामा देशको समृद्धि कसरी हुन्छ ?’

उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकार र सदनमा संघर्ष गरिरहेको बताए ।

प्रकाशित : २०७६ मंसिर ९, सोमबार ०१:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ