जेलमा रहेका पूर्वमन्त्री ‘टकला’को सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा सुनुवाइ एकै पटक


काठमाडौं, ११ मंसिर । कुनै समय धनुषाको राजनीतिमा एकछत्र राज गरेको तर हाल जन्मकैदको सजायमा थुनामा रहेका पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’को भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको दुई मुद्दा एकै पटक सुनुवाइ सुरु भएको छ।

विशेष अदालतले मंगबारबाट टक्लाको मुद्दा सुनुवाइ सुरु गरेको हो । न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले टक्लाको दुई मुद्दा सुनुवाइ सुरु गरेको हो । यसअघि विशेष अदालतले जनकपुर बम विस्फोटनको मुद्दामा थुनामा रहेका टक्लाको मुद्दामा पुर्पक्षका लागि बहस गरेको थियो । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका उनलाई विशेषले अन्तिम सुनुवाइ थालेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टक्लासहित सात जना विरुद्ध २०७३ पुस २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। टक्लाले मन्त्री र सांसद हुँदा साढे ३१ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दावी अख्तियारले गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएको करिब एक वर्षपछि २०७४ चैत १६ गते साह सहित १३ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। साहले गैरकानुनी क्रियाकलापबाट सम्पत्ति आर्जन गरेको र त्यसलाई लुकाउन अन्य १३ प्रतिवादीले साथ दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

साढे ३१ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जय साह विरुद्ध अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा समेत मुद्दा दायर गरेको थियो।

व्यवस्थापिका संसदका सदस्य ९सभासद० तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनयापन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

साहविरुद्ध अख्तियारमा उजुरीपछि छानविन गर्दा उनको सम्पत्ति अस्वभाविक देखिएको छ। आयोगले अनुसन्धान गर्दा दुई पटक संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्य ९सभासद० भएर, भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएको बेला समेत साहले सार्वजनिक पद धारण गरेपछि अस्वभाविक रुपमा सम्पत्ति लुकाएको अख्तियारको दावी थियो।

साहले आफू तथा परिवारका सदस्यहरुका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्महरुका कारोबार,ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीहरुका नामबाट भएका आर्थिक कारोबार गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको र त्यसलाई परिवारको नाममा राखेर लुकाएको अख्तियारको अभियोगमा उल्लेख छ।

अख्तियारले साहलाई बिगो ३१ करोड ५० लाख २६ हजार कायम गरी असुल गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय गर्न माग गरेको छ।

३२ करोड ४ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७४ चैत २६ गते विशेष अदालतमा साह विरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो। विभागले साहले गैरकानुनी रुपमा डर धम्की देखाएर चन्दा र जबरजस्ती असुली मार्फत सम्पत्ति आर्जन गरेको दावी गरेको थियो सम्पत्ति शुद्धिकरण विभागले सञ्जय साहका नाममा रहेका विभिन्न सम्पत्तिहरु रोक्का गर्दै अनुसन्धान गरेको थियो।

साहले आर्जन गरेको सम्पत्ति आफन्त तथा सहयोगीहरुको नाउँमा हस्तान्तरण गरेको विभागको दावी थियो ।

साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेनको कारोबार भएको अन्य व्यक्तिको सम्पत्तिको अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्र भित्र बसोबास गर्ने निज साहको घर परिवारतर्फका सहयोगी र कामदारको नामनामेसी सहित विवरण प्राप्त भएको विभागको आरोपपत्रमा उल्लेख छ।

विभागले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारी देवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइरामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओम प्रकाश यादव, सुजितकुमार पाण्डे समेतका कूल १२ जना प्रतिवादीहरु समेतको मिलेमतोमा लुकाएको दावी गरेको थियो।

साहले घरजग्गा, फर्म, कम्पनीको सेयर, सवारी साधनहरुमा लगानी गरी अपराधजन्य कार्यबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाइछिपाइ नयाँ कानुनी स्रोत, स्वामित्व समेत सिर्जना गरी वैधानिक स्रोतको देखाई सम्पत्ति शुद्धीकरण गर्ने बदनियतले साविक सम्पत्ति शुद्धीकरण गरेको विभागको आरोपपत्रमा उल्लेख छ।

जन्मकैदको फैसलाले थुनामा

जनकपुर बम काण्डका प्रमुख योजनाकार भनिएका तत्कालीन सभासद एवं पूर्व राज्यमन्त्री सञ्जय साह (टकला)लाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै २०७५ चैतमा जन्मकैदको फैसला सुनाइएको थियो।

७ वर्षअघि जनकपुरधामको रामानन्द चोकमा मिथिला आन्दोलनका क्रममा गराइएको बम विस्फोटको मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला अदालतले पूर्वमन्त्री साहलाई मुख्य योजनाकारको रुपमा स्वीकार गरेको छ।

जन्मकैदको सजाय पाउनेहरुमा अर्जुनसिंह विद्यार्थी भनिने मुकेश चौधरी, राजनमुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द्र झा रहेका छन् ।

विसं २०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामानन्द चोकमा भएको विरोध कार्यक्रमका क्रममा बम विस्फोट भएको थियो। सो विस्फोटमा परी ५ जनाको मृत्यु भएको थियो । विस्फोटमा कलाकार रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।

आरोपित साह २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट धनुषा ४ मा विजयी भएका थिए। यसैगरी दोस्रो संविधानसभामा तत्कालीन सद्भावना पार्टीका तर्फबाट धनुषा ३ मा विजयी भएका थिए। पहिलो संविधानसभा निर्वाचनपछि मधेसी जनअधिकार फोरम विभाजित भएर फोरम लोकतान्त्रिक बनेसँगै सोही पार्टी प्रवेश गरेका साह भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बन्न सफल भएका थिए ।

  • नेपाललाइभ डटकम
प्रकाशित : २०७६ मंसिर ११, बुधबार १३:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ