शहिदनगरका मेयर बरबरिया विरुद्ध आन्दोलन जारी, भत्ता नदिएपछि बृद्धबृद्धा आक्रोसित


जनकपुरधाम, २१ मंसिर । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदयबरबरिया खाडी मुलुक दुबइ भ्रमणमा रहेका बेला शुक्रवार कार्यालयमा बृद्धबृद्धाहरु भत्ता माग्दै धर्ना दिएका छन् । नेपाली काँग्रेस नगर समितिको आह्वानमा बृद्धबृद्धाहरु धर्ना दिएका हुन् ।

बृद्ध भत्ता विगत ८ महिनादेखि वितरण नगरेको, प्रसुती भत्ता १ हजार दिनुपर्नेमा ५ सय मात्र दिने गरेको सहितका माग राखेर काँग्रेस नगर समिति नगरपालिकाको कार्यालयमा धर्ना दिएको हो । काँग्रेसले मंसिर १२ गते नगरपालिकामा विरोध प्रदर्शन गरेका थिए ।

धर्नामा सहभागी विगत ८ महिनादेखि नगरपालिकाले भत्ता नदिएको एक बृद्धा गुनासो गरिन् । उनले भत्ता आजभोली गर्दा गर्दै लामो समयदेखि नदिएपछि औषधोपचार गर्न पनि समस्या भएको दुःखेसो पोखिन् । यस्तै धर्नामै सहभागी अर्का एक बृद्धाले भत्ता माग्न नगरपालिका पुग्दा मेयर बरबरियाले खेत बेचेर दिन्छु ? भन्दै उल्टै धम्क्याउने गरेको सुनाइन् ।

नगरपालिकाले जेष्ठ नागरिक, एकल महिला, दलित बालिबालिका लगायतको भत्ता वितरण नगरेपछि ज्ञापन पत्र बुझाएपनि बेवास्ता गरेपछि बाध्य भएर धर्ना दिएको स्थानीय काँग्रेस नेता सुधिर गोइतले बताए । उनले तालाबन्दी गर्ने चेतावनी दिएपनि मेयर विदेश भ्रमणमा गएका कारण धर्ना मात्र दिएको बताए ।

मेयर बरबरिया र निमित्त प्रशासकिय अधिकृत नन्दकुमार झा मंसिर १२ गते १० दिने भ्रमणका लागि खाडी मुलुक दुबई पुगेका छन् । उनीहरु मंसिर २२ गते फर्किने बताइएको छ । भत्ता वितरण छाडेर मेयर भ्रमणमा निस्केपछि स्थानीय बृद्धबृद्धा, गर्भवती महिला र अवकास प्राप्त कर्मचारीहरु आक्रोसित बनेका छन् ।

मेयर र निमित्त प्रशासकिय अधिकृत नहुँदा धर्ना दिएको र आएपछि पनि विभिन्न शिर्षकको भत्ताहरु वितरण नगरे नगरपालिकाको कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गर्ने काँग्रेसले चेतावनी दिएको छ ।

प्रकाशित : २०७६ मंसिर २१, शनिबार ०२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ