बालिकालाई ठक्कर दिएपछि ट्रकमा आगजनी, प्रहरीले हवाई फायर गरेपछि अवस्था तनावग्रस्त


नेपालगञ्ज, २२ मंसिर । ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भएपछि बाँके प्रमुख व्यापारिक केन्द्र कोहलपुर तनावग्रस्त बनेको छ ।

ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन् । कोहलपुरको त्रिभूवन उच्च मावि नजिकै दुर्घटना भएपछि तोडफोड र आगजानी भएको छ। घाइतेको अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनापछि आक्रोशित विद्यार्थीहरुको समूहले ट्रक तोडफोड र आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले नेपालगञ्ज-कोहलपुर सडकमा कयौँ गाडीमा तोडफोड गरेका छन् । तनाव बढेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ ।

त्रिभूवन माविदेखि सुरु भएको तनाव कोहलपुर बजार चोकसम्म नै पुगिसकेको छ। प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन् । भीड तितरबिर पार्न प्रहरीले हवाई फायर गरेको छ ।

ठूलो भीड खन्निएपछि प्रहरी इलाका प्रहरी कार्यालय क्षेत्रमा सीमित भएको छ। झडपपछि सडक ठप्प छ । तनाव बढेपछि कोहलपुर बजार बन्द गरिएको छ भने नेपालगन्जबाट प्रहरीको थप बल मगाइएको छ । – thahakhabar

प्रकाशित : 8 December 2019 8:32 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ