झुटो विवरण पेशगरी नागरिकता बनाउन खोज्ने भारतीय ज्वाइँ र धनुषाधामका ससुरा पक्राउ


जनकपुरधाम, २४ मंसिर । झुटो विवरण पेश गरी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयका पुगेका भारतीय ज्वाइँ र ससुरा पक्राउ परेका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका २ का जीतनारायण यादबले भारतीय ज्वाइँलाई छोरा भन्दै नागरिकता बनाउन पुगेका थिए । नागरिकता बनाउने बेलामा कर्मचारीलाई कागजातमा शंका लागेपछि जीतनारायण र उनका ज्वाइँ भारत विहार राज्यको मुजफरपुरका सुनिलकुमार यादबलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले पक्राउ परेका दुवै जनामाथि प्रारम्भिक अनुसन्धान गर्दा जीतनारायणले छोरा भनेर ज्वाइँ सुनिललाई नागरिकता बनाउन खोजेको बताए ।

नागरिकता बनाउनका लागि धनुषाधाम नगरपालिका २ का वडाध्यक्षले सिफारिस समेत गरेका थिए । त्यही सिफारिस लिएर उनीहरू नागरिकता बनाउन खोजेका थिए ।

स्रोतका अनुसार वडाध्यक्षलाई उनीहरूले घुस खुवाएर नागरिकताका लागि सिफारिस लिएका थिए ।

प्रकाशित : २०७६ मंसिर २४, मंगलवार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ