सप्तरीमा अन्याय : छोरा जोगाउँदा आमा कुटिइन, अवस्था गम्भिर


सप्तरी, २९ मंसिर । जीउभरि कुटेको नीलडाम, लाठीको चोटले बसेको सुम्लो, कुटाइले सुन्निएको अनुहार र शरीर, संवेदनशील अङ्ग (योनि)बाट रगत बगिरहेको देखिन्छ । बोल्न खोज्छिन्, सक्दिनन् । पीडाले बेलाबेलामा बेहोस बनाउँछ ।

गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना भएकी तिलाठी कोइलाडी गाउँपालिका– ८ तोपाकी ३० वर्षीया मञ्जुदेवी खङ्ग यति बेला जीवनसँग सङ्घर्ष गर्दै छिन्। छिमेकीको सहयोगमा ११ वर्षीय जेठा छोरा अर्जुनले शनिवार उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराए । स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै चिकित्सकले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भनेका छन् ।

मञ्जुको घरमा ११ र सात वर्षीय छोरा तथा पक्षाघात बिरामी सासू छन् । आर्थिक अवस्थासमेत अत्यन्त कमजोर रहेकाले मञ्जुको सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन सक्ने अवस्था छैन । छोराहरूलाई कुटपिटबाट जोगाउँदा आफ्नो यो हालत भएको मञ्जुले बताए । गत शुक्रवार राति सधैँ झैँ मातिएर आउने उनका श्रीमान् राजकुमार खङ्गले मुखमुखै लागेको भनी छोराहरूलाई कुटपिट गर्न थाले ।

‘बुबा घर प्रवेश गरेपछि खुसी भएका कान्छा छोराले बिस्कुट मागे, जेठा छोराले आज माछा ल्याउने भनेका थिए, खोइ त ल्याएको भने’, मञ्जुले भनिन्, ‘कुरा यति थियो, मादक पदार्थ र गाँजा सेवन गरी घर आएका श्रीमान्ले छोराहरूलाई नराम्रोसँग कुटन थालेपछि जोगाउन आफू अघि सर्दा रातभरि कुटाइ खाए ।” मागबमोजिम बिस्कुट र माछा ल्याउन नसकेका राजकुमारले छोराहरूलाई कुटपिट गर्न थालेपछि मञ्जु जोगाउन अघि सरिन । ‘कमाएको जति सबै बाहिरै रक्सी खाएर उडाउने, छोराहरूले खानेकुरा माग्दा चाहिँ कुट्ने,’ मञ्जुले प्रतिवाद गरिन।

बुबा आउलान् अनि माछा भात पकाएर खाउँला भनी नाबालक छोरा राति अबेलासम्म आशा गरेर बसेका थिए । मञ्जुले पनि छोरालाई बुबा आएपछि पकाएर खानुपर्छ भनी आश्वासन दिएर पर्खाउनुभएको थियो तर रक्सी र गाँजाको नशामा मातिएर खाली हात आएका श्रीमान्ले अनाहकमा छोरालाई कुटेको देखेर रिस थाम्न नसकेकी मञ्जुले घरमा तरकारी ल्याउनुहुन्छ र पकाउँला भनेर हामी पर्खी बसेका छौँ, तपाईँ भने कमाएको सबै रक्सी खाएर उडाउने भनेर कराइन ।

रक्सी खाएर बाहिरै पैसा उडाउने भए, घर किन आएको भनेपछि राजकुमारले छोरालाई छाडी मञ्जुलाई कुटन थाले । लात, मुक्काले मात्र नभई लाठीले रातभरि कुटपिट गरेको मञ्जुले बताइन । कुटपिटबाट मञ्जु बेहोस भइन । सम्पूर्ण शरीरमा नीलडाम र चोटपटक लागेको छ । मञ्जुलाई रातभरि बेहोस हुनेगरी कुटेका राजकुमार बिहानै फरार भएपछि जेठा छोरा अर्जुनले छिमेकीसँग हारगुहार गरी आमालाई राजविराजस्थित अस्पताल भर्ना गराए । राजकुमारलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

सुनसरी शिवगञ्ज भोक्रहाका बद्री शर्मा खत्वेकी छोरी मञ्जुको १६ वर्षको उमेरमा राजकुमारसँग बिहे भएको थियो । ससानो कुरामा धेरैपटक कुटाइ खाएको बताएकी मञ्जुले गहभरि आँसु पार्दै भनिन्, ‘यस पटक बस्नसम्म नसक्ने गरी कुटपिट गर्नुभयो ।’

ज्यानभरि नै चोटपटकको नीलडाम रहेका र रगत बगिरहेको छ । ‘अवस्था नाजुक भए पनि अन्यत्र जान नसक्ने भएपछि यहीँ अस्पतालमा उपचार गराइरहेका छौँ, सुधारोन्मुख हुने आशा छ’, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने ।

  • tvannapurna.com
प्रकाशित : 15 December 2019 2:43 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ