निजगढ विमानस्थलका लागि रुख नकाट्न सर्वोच्चको आदेश


काठमाडौं, ६ पुस । सर्वोच्च अदालतले निजगढ विमानस्थलका लागि तत्काल रुख काट्ने काम शुरु नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलाशले आइतबार विमानस्थल निर्माणअन्तर्गत तत्काल रुख कटानको कार्य अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीसहित ९ जनाले मंसिर १७ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले रुख कटान गर्ने कार्य अगाडि नबढाउन भनेको छ ।

साथै, सर्वोच्चले विमानस्थलको निर्माणका क्रममा हुने रुख कटानीको विषयमा विपक्षी नेपाल सरकारबाट जवाफ समेत माग गरेको हो । विमानस्थल निर्माणको क्रममा ठूलो संख्या रुख कटान गरी वन विनाश गर्न लागिएको भन्दै ९ जनाले मंसिर १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गरेको हो । यसअघि पूर्वप्रशास द्वारिकानाथ ढुंगेलसहितले विमानस्थलको निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

तर, आइतबार प्रधानन्यायाधीश राणा नेतृत्वको संयुक्त इजलाशले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिइरहनुपर्ने नदेखिएको भनेको छ । अब ‘विपक्षी’ नेपाल सरकारले जवाफ पठाएपछि मात्रै निजगढ विमानस्थल प्रकरणको मुद्दा पेशीमा चढ्ने संभावना छ ।

प्रकाशित : 22 December 2019 6:58 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ