पत्रकार हत्या प्रकरणमा ५ जनालाई मृत्युदण्डको सजाय


काठमाडौं, ७ पुस । पत्रकार जमाल खासोग्जीको हत्या प्रकरणका ५ जना आरोपीलाई साउदी अरबको अदालतले मृत्युदण्ड सजाय सुनाएको छ ।

साउदी सरकारको कडा आलोचक मानिएका पत्रकार खासोग्जीको २ अक्टोबर २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासभित्र हत्या गरिएको थियो । पत्रकार खासोग्जीको हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको विषय चर्चामा आएको थियो ।

तर, साउदी सरकारले खासोग्जीको हत्यामा राजपरिवारको संलग्नतालाई अस्वीकार गर्दै ‘केही छाडा एजेन्टहरु’ले घटना घटाएको आरोप लगाएको थियो । यद्यपि संयुक्त राष्ट्रसंघका एक अनुसन्धानकर्ताले खासोग्जीको हत्यालाई ‘राज्यद्वारा गरिएको हत्या’को संज्ञा दिएका थिए ।

खासोग्जी कुनै समय साउदी राजपरिवारको निकट व्यक्ति मानिन्थे । उनले लामो समय साउदी समाचार संस्थाका लागि काम गरे । साउदी सरकारको सल्लाहकारका रुपमा समेत काम गरेका खासोग्जीले पछिल्ला केही वर्ष अगाडि साउदी राजपरिवारको ‘विश्वास गुमाए’का थिए ।

राजपरिवारबाट खतरा महसुस गरेका खासोग्जी सन् २०१८ मै अमेरिका निर्वासनमा गएका थिए । निर्वासनका क्रममा अमेरिकामा रहेका बेला उनले वाशिङ्टन पोस्टका लागि मासिक रुपमा स्तम्भ लेख्ने गरेका थिए ।

आफ्नो स्तम्भमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरुको अलोचना गरेका थिए ।

प्रकाशित : 23 December 2019 8:41 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ