पर्यटकीय पूर्वाधार विकास प्रदेशको जिम्मेवारी : मुख्यमन्त्री राउत


जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको रहेको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं २ को जिल्लास्तरीय समन्वय समिति भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशभित्र रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले विकास निर्माणको जिम्मा प्रदेश सरकारले लिने भए पनि प्रचारप्रसार लगायतको क्षेत्रमा सक्रिय भूमिका समन्वय समितिका पदाधिकारीलाई लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेशमा जानकी मन्दिरसहित हिन्दू, इस्लाम, बौद्ध, जैन र शिख धर्मावलम्बीका पनि थुप्रै धार्मिकस्थलहरु छन्, त्यसको प्रचारप्रसार हामीले गर्नुपर्दछ । त्यतिमात्र गर्न सकिए पर्यटनको क्षेत्रमा हामी ठूलो फड्को मार्छौं ।”

विगतमा सरकारको उदासीनताका कारण यस प्रदेशका पर्यटकीय क्षेत्रहरुको विकास हुन नसकेको गुनासो गर्दै मुख्यमन्त्री राउतले भन्नुभयो, “जानकी मन्दिरबाटै प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासको काम शुरु गरिसकेको छ । यसै वर्ष सप्तरीको सखडा मन्दिर, सिरहाको सलहेस फूलबारी, महोत्तरीको रौजा मजार, पर्साको भिष्वा डाडासहितको स्थानमा गुरुयोजनासहित काम शुरु हुन्छ ।”

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री एवं पर्यटन वर्ष २०२० का प्रदेश अध्यक्ष रामनरेश रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, परमेश्वर साह, नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, जनकपुरका पूर्वप्रमुख बजरङ्ग साह, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक मनिष झासहितका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा आठै जिल्लाका समन्वय समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।

प्रकाशित : 27 December 2019 8:00 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ