सन्तोष यादब/ जनकपुरधाम, १४ पुस । शितलहरले प्रदेश २ का आठै जिल्लाको जनजीवन कष्टकर बनेको छ । विगत दुई साता अघिदेखि तराई/मधेसका जिल्लामा सुरु भएको शितलहरले सर्वसधारणको ज्यानै जोखिममा परेको हो ।
चिसो हावासँगै अत्यधिक गुहिरो लाग्न थालेपछि मधेसका जिल्लाहरुको तापक्रम न्यून बन्दै गएको छ । चिसो अत्यधिक बढेपछि घरबाट निस्किन पनि गाहे भएको सर्वसधारण बताउँछन् । बजारमा चहल पहल घटेको छ । प्रदेश २ का अधिकांश विद्यालय बन्द गरिएको छ । चिसोले सबभन्दा बढी बृद्ध बृद्धा र बालबालिकाहरु प्रभावित बनेका छन् ।
सर्वसधारण घुरा (आगो) बालेर दिन काट्न बाध्य छन् । मजदुरहरु त झन प्रभावित बनेको छ । मजदुरी गरी घरपरिवार चलाउने न्यून वर्गका व्यक्तिहरु झन समस्यामा परेका छन् । काम गर्न नपाएपछि घर चलाउन पनि समस्या भएको जनकपुरमा विगत लामो समयदेखि ठेला चलाउँदै आएका बद्री पासवानले गुनासो पोखे । उनले भने, ‘चिसोले काम गर्ने अवस्था रहेन । एक सातादेखि काम गर्न बजार गएको छैन ।’
चिसोका कारण आठ वटै जिल्लाका अस्पतालहरुमा बिरामीको संख्यामा बृद्वि भएको छ । खासगरी रुघाखोकी, ज्वरो, निमोनियाँका बिरामीहरु बढ्न थालेको हो । जनकपुरस्थित प्रादेशिक अस्पतालमा रोगीहरुको चाप बढेको छ । चिसोकै कारण विशेषगरी दम, खोकी तथा निमोनियाका रोगीहरुको चाप बढेको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
चिसो छल्न बालेको घुरा ताप्ने क्रममा प्रदेश २ का कैयौं महिला र बालबालिकाको लुगामा आगो लागेर घाइते भएका छन् । कतिपयले चिसोले कठाग्रिएर ज्यान गुमाएको छ भने कतिपयले चिसो छल्न बालेको आगो लुगामा सल्केर ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चिसोले ४ को मृत्यू
चिसोका कारण प्रदेश २ मा हालसम्म ४ जनाको ज्यान गइसकेको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार धनुषा १, बारा २ र पर्सामा १ जनाको ज्यान गएको हो ।
चिसो छल्न बालेको घुरा (आगो) ताप्ने क्रममा शरिरको लुगामा आगो लागेपछि बाराको प्रसौनी गाउँपालिका ७ बलुवा टोलकी ७० वर्षीया सोना देवी साहको मृत्यू भएको छ । आगोले सिकिस्त घाइते भएकी सोनाको उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल बीरगन्ज लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लग्ने क्रममा बाटोमै उनको मृत्यू भएको बारा प्रहरीले जनाएको छ ।
बाराकै जीतपुर सिमरा उप–महानगरपालिका २३ स्थित मस्जिद टोलका ५५ बर्षीय स्माइलमेहा मन्सुलीको चिसोका कारण ज्यान गएको छ । वडाध्यक्ष अस्लम देवानका अनुसार फुसको घरमा बस्दै आएका अति विपन्न मन्सुलीको सुतिरहेकै अवस्थामा ज्यान गएको छ ।
यस्तै जनकपुरधाम उप–महानगरपालिका २३ का भोगी कापडकी ४८ बर्षीया पत्नी अनिता देवी कापडको पनि चिसोकै कारण ज्यान गएको छ । घरमै कठाग्रिएर उनको ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।
यस्तै पर्सामा पनि चिसोले एक ७५ वर्षीय बृद्धको ज्यान गएको छ । पर्सागढी नगरपालिका ४ का बृद्ध बिक्रम सहनी मलाह चिसोले सिकिस्त विरामी परेको र उपचारका लागि बीरगजस्थित नारायणी अस्पतालमा भर्ना गराएपनि बाँच्न नसकेको प्रहरीले जनाएको छ ।
विद्यालय बन्द
चिसोकै कारण धनुषाका शैक्षिक संस्थाहरु बन्द भएको छ । पुस १८ गते शुक्रबारसम्मका लागि धनुषाका सामुदायिक विद्यालयहरु बन्द राख्ने निर्णय भएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख बर्खु प्रसाद रजकले जानकारी दिए ।
यस्तै धनुषाका निजी विद्यालयहरु पनि तीन दिनका लागि बन्द गरिएको छ । प्याबसन र एन प्याबसनले संयुक्त रुपमा विज्ञप्ती निकालेर आजदेखि बुधबारसम्मका लागि सम्पूर्ण निजी विद्यालय बन्द गरिएको जनाएको छ ।
घरपालुवा जनावरलाई पनि समस्या
चिसोका कारण व्यक्तिको स्वास्थ्यसँगै घरपालुवा जनावरहरुलाई पनि समस्या भएको छ । बालीहरु समेत नष्ट भइरहेको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले बताए ।
उनले भने, ‘चिसोले मौरीहरुको अवस्था खराव भएको छ । बाहिर निस्कन नसक्ने भएकाले चरण गर्न अप्ठ्यारो भइरहेको छ ।’ गहुँबाली, तेलहन बाली, तरकारी खेतीमा चिसोले असर परेको पनि उनको भनाई छ ।
- थाहा खबर