जनकपुरधाम, २० माघ । शहिद हेमनारायण यादबको १६ औं स्मृति दिवस आईतवार सिरहा सदरमुकाममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले मनाएको छ । स्मृति दिवसको अवसरमा नेताहरुले शहिद हेमनारायणको शालिकमा माल्र्यापर्ण गरेका थिए ।
स्मृति दिवसको अवसरमा सभा, रक्तदान कार्यक्रम र कम्बल वितरण समेत गरिएको छ । शनिवार स्मृति दिवसकै अवसरमा सिरहा सदरमुकाम सरसफाई कार्यक्रम गरेको थियो । उनको सम्झनामा हरेक वर्ष स्मृति दिवस मनाइन्छ ।
सिरहा सदरमुकामबाट धनगढीस्थित तत्कालिन नेकपा एमाले नेताको घर जाने क्रममा १६ वर्ष अगाडी हेमनारायण अपहरणमा परेका थिए । अपहरण गरेकै दिन उनलाई गोली हानी हत्या गरेको अवस्थामा कमला नदी नजिकै धनुषामा शव फेला परेको थियो । हत्याको १६ वर्ष वितिसक्दा पनि उनको हत्यारा अझै पत्ता लाग्न सकेका छैन् ।
हत्याको ३ वर्षपछि हेमनारायणलाई सरकारले शहिद घोषणा त गर्यो । तर हत्यारा पत्ता लगाउन चासो देखाएन । तत्कालिन नेकपा एमालेका महासचिव माधव नेपालले हत्यारा पर्दाको पछाडी रहेको र पर्दा उघार्न मात्र बाँकी रहेको बताएका थिए । अन्य नेताहरु पनि हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिवद्धता जनाएका थिए । तर नेताहरुको प्रतिवद्धता बोलीमै सिमित देखिएको छ ।

हेमनारायण यादबको हत्यामा आफ्नो पार्टीको संलग्नता नरहेको तत्कालिन नेकपा माओवादीले प्रेस विज्ञप्ती नै निकालेका थिए । पछि छानविनका लागि संसदस्य समिति आनन्द ढुंगानाको नेतृत्वमा बन्यो । ति समितिले नेपाली सेनाको संलग्नता रहेको प्रतिवेदन सार्वजनिक गरे । विभिन्न मानव अधिकारवादी संस्थाले पनि घटनाको प्रतिवेदन सार्वजनिक गर्दै सेनाकै संलग्नता देखाइयो । तर कारबाही भने कसैमाथि भएनन् ।
बुवाको हत्यापछि जेठा छोरा डा. नविन यादब राजनीति सुरु गरे । उनले हत्यारालाई कारबाही गराउनकै लागि एमाले परित्याग गरी तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र एकिकृत नेकपा माओवादी हुँदै अन्ततः नेकपा एमालेमै फर्किए । अहिले एमाले र माओवादी मिलेपछि बनेको नेकपामा छन् ।