काठमाडौं, २० माघ । सरकारले सम्झौता गरे अनुसार भुक्तानी नपाएका उखु किसानहरु फेरी काठमाण्डु केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल सरकारको तर्फबाट उद्योग मन्त्रालयमा किसानहरुसित भएको सम्झौता अनुसारको बक्यौता रकम भुक्तानी नभएकोमा दुख व्यक्तगर्दै पीडित किसानहरुले बाध्य भएर फेरी काठमाण्डुमा आन्दोलन गर्न आउने बताएका छन् ।
राजधानीमा आइतवार किसान संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा बक्यौता रकम पाउनका लागि एक छाके उपवासदेखि अनिश्चितकालीन रिले अनशनसम्मको कार्यक्रम सार्वजनिक गरेकोछ ।
सरकारले सम्झौता गरेरपनि तोकिएको समयमा बक्यौता रकम उपलब्ध गराउन नसकेको विरोधमा आगामी चैत ४ गतेदेखि दोश्रो चरणको आन्दोलन गर्ने घोषणा संघर्ष समितिले गरेका हुन् ।
उखु किसान संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रामस्वार्थ रायले सर्लाहीको गोडैतामा शनिवार सम्पन्न संघर्ष समितिको बैठकले राजधानीमा दोश्रो चरणको अनिश्चितकालीन आन्दोलन गर्ने निर्णय गरेको बताए ।
सरकारले माग पुरा नगरे चैत ४ गतेबाट प्रारम्भ हुने दोस्रो चरणको संघर्ष सम्झौतामा नटुगिंने रायले बताए ।
संघर्षको कार्यक्रम अनुसार माघ १९ गते देखि फागुन ५ गतेसम्म उखु किसानहरुको बक्यौता रकमको विवरण गाउँ गाउँमा पुगेर संकलन गर्ने, फागुन ६ गतेदेखि २१ गतेसम्म उखु किसानहरुले एक छाक मात्र खाना खाएर खेतमा काम गर्ने रहेकोछ ।
त्यसैगरि फागुन २२ गतेदेखि चैत २ गतेसम्म ‘चलु काठमाण्डु, भरु काठमाण्डु’ अभियान चलाउने र चैत ४ गते देखि काठमाण्डुको माइतीघर मण्डलामा अनिश्चितकालीन रिले अनशन सुरु गर्ने किसान संघर्ष समितिका अध्यक्ष रायले जनाए ।
‘पुस १८ गते भएको सरकारसँगको सम्झौता पूर्ण रुपमा कार्यान्वयनमा आएन,’ रायले भने,‘तोकिएको अवधिभित्रमा बक्यौता रकम भुक्तानी गराउन सरकारले इमान्दारिता देखाउन सकेन । सरकारको गैर जिम्मेवारीपनको पराकाष्टाविरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा गर्न बाध्य भएको उनले बताए ।
वक्यौता रकम नपाउने किसानको तथ्यांक संकलन गर्न सम्पूर्ण पालिकाको वडा स्तरसम्म पहुँच हुने किसानको टोली खटाएर जागरुकता समेत ल्याइने संघर्ष समितिले जनाए ।
पुस महिनाको मध्यमा उखु किसानहरुले ज्यानको बाजी थापेर माइतीघर मण्डलामा धर्ना दिएका थिए ।उखु किसानको आन्दोलनमा विभिन्न अधिकारकर्मी, समाजवादी पार्टी, राष्ट्र्यि जनता पार्टी, नेपाली काँग्रेस लगायतले समर्थन जनाएका थिए ।चौतर्फी दवावबाट गलेको सरकारले किसानहरुसित गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको आरोप पीडित किसानहरुले लगाएका छन् ।
तर कतिपय चिनी मिलले किसानहरुको रकम भुक्तानी गरेका छन् ।केहिले भुक्तानी गर्न समय माग गरेको भएपनि केहि चिनी मिलका सञ्चालकहरुले किसानसित सरकारले गरेको सम्झौताको वेवास्ता गरेका छन् ।