काठमाडौं : कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि काठमाडौं उपत्यकाका वीर र पाटन अस्पतालमा भर्ना गरिएका ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयको भिडियो जानकारीमा प्रवक्ता डा. विकास देवकोटाले सोमवार ३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
मृत्युको कारण कोरोना भाइरसको संक्रमण हो/होइन भनेर परीक्षण भइरहेको उनले बताए । ‘रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।
ललितपुरको पाटनको अस्पतालमा आइसोलेसनमा रहेका ३६ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । ‘वीर अस्पतालमा २ जनाको मृत्यु भएको छ, एक जना ब्लड प्रेसरको बिरामी फिबरसहित थिए, अर्का भारतीय नागरिक कालिमाटीतिर बस्ने, ज्वरोको बिरामी थिए,’ उनले भने ।