जनकपुरधाम : कोरोना भाइरस फैलिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले बोलबमको नाममा भिडभाड नगर्न अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सूचना जारी गरेर श्रावण महिना समेतमा उत्तरायणी लगायतका नदी किनार, मन्दिर तथा सार्वजनिक स्थलमा शिव आराधना, बोलबमका नाममा भिडभाड (जमघट), नाचगान नगर्न नगराउन अपिल गरेका हुन् । यस्तै अन्य मठ मन्दिर, मस्जिद, चर्च, गुम्वा समेतमा भिडभाड हुन नदिन र आउँदो श्रावणी अष्टमी जनै पुर्णिमा लगायत हाटबजार समेत नलगाउन सूचनामा भनिएको छ ।
बजारमा किनमेल गर्दा दुरी कायम गराउने, साबुन पानीले हात धुने र धुन लगाउने, स्यानीटाइजर र मास्क प्रयोग गर्न गराउन समेत सर्वसधारणसँग आग्रह गरिएको छ । साथै जिल्लाभित्र चल्ने सवारी साधनमा समेत सुरक्षा र स्वास्थ्य सम्बन्धि मापदण्ड/प्रोटोकल पालना गर्न अपिल गरिएको छ ।
प्रजिअ कणेलले सूचना अनुसार गर्न गराउन जिल्लाका सबै कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय र व्यापार संघ संस्थालाई समेत परिपत्र गरेका छन् ।
सिरहामा हालसम्म २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १५४ जना डिस्चार्ज भइसकेका छन् । अन्यको आइसोलेसनमा उपचार भइरहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।