जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता विनोद रोहिताले धनुषाको शहिदनगर नगरपालिकाका सम्भावित कोरोना संक्रमित सबैको पिसिआर टेस्ट गर्न माग गरेका छन् ।
शहिदनगर नगरपालिका घर भएका नेता रोहिताले पुनः लकडाउन घोषणा गर्न समेत प्रदेश सरकारसँग माग गरेका हुन् । प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमित थपिदैं गएकोले सम्भावित क्षति रोक्न प्रदेश सरकार र स्थानीय सरकारले चासो देखाउनुपर्ने उनको भनाई छ ।
शहिदनगर नगरपालिकाकाको डुमरिया चौकको एक व्यापारी युवक साउन ११ गते कोरोना को कारण मृत्यु भएको थियो । उनले किराना, हार्डवेयर र खाद्यको समेत व्यापार गर्दै आएका ३६ वर्षिय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएपछि शहिदनगरका जनता त्रसित बनेका छन् । मृतकको साविक घर कमला नगरपालिका ८ टेरहामै उनको परिवारका सवै सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको छ ।
भेन्टिलेटरको अभावकै कारण उनको मृत्यु भएको बताइएको छ । नेता यादब भन्छन्, ‘प्रदेश सरकारसँग अविलम्ब भेन्टिलेटरको व्यवस्था गर्न माग गर्दछु । नत्र अगामी दिनमा अन्य संक्रमितको पनि ज्यान जान सक्छन् ।’
‘मृतकको पसल रहेको र उनीबाट धेरै व्यक्तिले समान खरिद गरेका कारण उनीहरुमा पनि कोरोना सरेको हुनसक्छ’, रोहिताले भने, ‘त्यसैले मृत्यू हुनु अगाडी उनको सम्पर्कमा आएका सबैको पहिचान गरी अनिवार्य रुपमा पिसिआर टेस्ट गर्न जरुरी छ ।’