वीरगञ्ज : वीरगञ्ज कारागार सिल गरिएको छ । कारागारमा एक महिलासहित आठ जनामा कोरोनाको सङ्क्रमण भेटिएपछि कारागार सिल गरिएको कारागार प्रमुख ९जेलर० श्रवणकुमार पोखरेलले बताए ।
सङ्क्रमित कैदीबन्दीको कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेशन कक्ष ९उपचार केन्द्र० मा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार भइरहेको छ । एक जना महिला कैदीबन्दीलाई उनकै कोठामा आइसोलेशन बनाएर उपचार भइरहेको जनाइएको छ ।
कारागारभित्र प्रशासनिक काम बाहेक सबै काम बन्द रहेको छ । कारागारभित्र कोरोनाको उच्च जोखिम बढेपछि कैदीबन्दीहरुको सम्पर्कमा आएका उनका आफन्तको स्वाब परीक्षण गर्न उनीहरुको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ ।
हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन् । ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द रहेको जनाइएको छ । कारागारमा सबैभन्दा बढी भारतीय कैदीबन्दी भएकाले भारतीय कैदीबन्दीलाई भेट्न आउँदा कोरोना सङ्क्रमण सर्न सक्ने आशङ्का कारागार प्रशासनले गरेको छ ।
कारागारमा भारतीय कैदीबन्दी बढी रहेको र भारततर्फ कोरोना सङ्क्रमण बढी देखिएकाले कारागार अहिले कोभिड–१९ को उच्च जोखिममा रहेको छ । यसलाई दृष्टिगत गरेर कैदीबन्दीको आफन्तले ल्याउने कोसेली कारागारका कर्मचारीले पुर्याउने काम बन्द गरिएको छ ।
कारागारमा कोरोना सङ्क्रमित भेटिएपछि अन्य कैदीबन्दीलाई सङ्क्रमण नपरोस् भनेर कारागार प्रशासनले कारागार सिल तथा भेटघाट बन्द गरिएको छ । – RSS