दोहा : कतार सरकारको संस्था कतार च्यारिटिले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुका लागि २२५० राहत कुपन उपलब्ध गराएको छ ।
विश्वब्यापी रुपमा देखापरेको करोना भाइरस नियन्त्रणका क्रममा कतार सरकारले आफ्ना नागरिक तथा अन्य आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै सो राहत कुपन गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान मार्फत दिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्रीले जानकारी दिएका छ ।
प्रवक्ता क्षेत्रीका अनुसार प्राप्त भएको राहत कुपन आवश्यकता अनुसार कोरोनाबाट पीडित तथा खानको लागि समस्या भएको नेपाली श्रमिकलाई वितरण गरिने बताएका छन् ।
कोरोनाबाट सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली श्रमिकहरुलाई देखापरेका समस्या समाधानका निम्ति गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको समेत समन्वयमा कतार च्यारिटिमार्फत उपलब्ध ५,९१७ थान राहत स्वरुप खाद्यसामग्री वितरण गरिसकिएको जनाइएको छ ।
कतारमा कोरोना सङ्क्रमणबाट १७ जना नेपाली श्रमिकले ज्यान गुमाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन ।
कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भए भन्ने बारे दूतावाससंग पनि तथ्याङ्क छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।