राजविराज : जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि सात दिनको लागि निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गर्ने निर्णय गरेको छ ।
समितिको सोमबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम भोलि मंगलबार बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको हो । सूचनामा राजविराज नगरसहित जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीको निषेधाज्ञा आदेशमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बैठकपछि जारी गरेको निषेधाज्ञामा हालसम्म ५३१ जना सङ्क्रमितको संख्या पुगेको र सङ्क्रमितमध्ये राजविराज नगरपालिकामा एक जनाको मृत्यु समेत भइसकेको अवस्थामा सजगता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरू आवश्यक रहेको भन्दै कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि अत्यावश्यक कार्य बाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको बताइएको छ ।
निषेधाज्ञा आदेशमा औषधि पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्बन्धी सेवा र मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कसप जस्ता अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवा÷स्थलहरूमा अनावश्यक आवत जावत, हिँडडुल नगर्न/नगराउन भनिएको छ ।
आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने ब्यहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरू समेत तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरूको पूर्ण पालन हुने गरी मात्र गर्न गराउन सचेत गराइएको छ । सो नमानेमा प्रचलित ऐन, नियम कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।