राजविराज : सप्तरीमा एकै दिन पाँच स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि आज बिहानदेखि गजेन्द्रनारायण सिंह अस्पतालको स्वास्थ्य सेवा बन्द गरिएको छ ।
सङ्क्रमित स्वास्थ्यकर्मीहरूलाई आइसोलेसनमा भर्ना गरेपछि र सङ्क्रमितको सीधा सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीसहित २७ जनालाई क्वारेन्टाइनमा बसाउनुपर्दा सेवा बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। रणजीत कुमार झाले जानकारी दिए । शुक्रबार दिनभरि सेवा बन्द गरेर स्वास्थ्यकर्मी व्यवस्थापन गरी शनिबारदेखि सेवा सुचारु गर्ने तयारीमा लागेको उनको भनाई छ ।
यससँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या नौ पुगेको छ । यसअघि पाँच जना स्वास्थ्यकर्मीहरूमध्ये दुई जना निको भएर घर फर्किसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए । उनका अनुसार अहिले सात जना स्वास्थ्यकर्मीहरू आइसोलेसनमा भर्ना छन् ।
बिहीबार राति आएको रिपोर्टमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको इमर्जेन्सी वार्डका चार जना र छिन्नमस्ता अस्पतालका एक हेल्थ असिस्टेन्टसहित पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
यस्तै सोही रिपोर्टमा छिन्नमस्ता गाउँपालिका ५ का दुई जना उमेर नखुलेका पुरुष, वडा ४ का २५ वर्षीया महिला, राजविराज नगरपालिकाको वडा नखुलेका स्वास्थ्यकर्मीहरू ४०, ४०, ३१ र ३८ वर्षीय पुरुष, राजविराज ४ का ३३ वर्षीय पुरुष र ५५ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको बताइएको छ ।
त्यसैगरी, रुपनी गाउँपालिका९६ का २४ वर्षीय पुरुष, महादेवा गाउँपालिका २ का ३७, ३७, ३६ र ३४ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका २ का उमेर नखुलेका तीन जना पुरुष र वडा ७ का उमेर नखुलेका एक जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५७ पुगेको छ भने ३८३ जना निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा १०४ जना उपचारका लागि भर्ना छन् ।