वीरगंज : पर्सा र बाराका पेट्रोलियम बिक्रेताहरुले दुवै जिल्लामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण इन्धन आपूर्ति तथा बिक्री वितरणमा समस्या उत्पन्न भइरहेको बताएका छन् । उनीहरुले यस्तै अवस्था रहे आइतबारदेखि दुवै जिल्लाका सबै पेट्रोल पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
वीरगंज पेट्रोलियम बिक्रेता संघ र बारा पेट्रोलियम बिक्रेता संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु सेवा दिन नसक्ने अवस्थामा पुगेको भन्दै पम्प बन्द गर्ने चेतावनी दिएका हुन् ।वीरगंजमा गत साउन १० गतेदेखि लागू गरिएको निषेधाज्ञाका कारण बैंकहरु बन्द हुँदा आर्थिक क्रियाकलाप गर्न नसकिएको व्यवसायीहरुले दुखेसो पोखेका छन् ।
इन्धन बिक्रेताहरुले काठमाडौं, चपुर, अमलेखगन्ज र हरिवन लगायतका क्षेत्रमा रहेका बैंकहरुबाट नगदको कारोबार गर्दै आएको जनाएका छन् । ती क्षेत्रहरुमा पनि अब बैंकहरु बन्द हुने भएका कारण सेवा दिन नसकिने उनीहरुको तर्क छ ।
बैंक तथा वित्तीय संस्थाहरु बन्द भएर नगद जम्मा नहुँदा आयल निगमलाई भुक्तानी गर्न नसकिएको पेट्रोलियम व्यवसायीहरूको भनाइ छ । पर्सा र बारामा सयवटा भन्दा बढी पेट्रोल पम्पहरु छन् ।