जनकपुरधाम : सामान्यतया घरजग्गाको मूल्य निर्धारण पनि माग र आपूर्ति अनुसार नै हुने गर्छ। जता जता माग धेरै हुन्छ, कारोबार धेरै हुन्छ, मूल्य पनि त्यही ठाउँमा अस्वभाविक तरिकाले बढिरहेको पाइन्छ ।
किनबेचका आधारमा मूल्य बढाबढ हुँदा सरकारी निकायले पनि राजस्वको लोभमा सरकारी मूल्य बढाइ दिन्छन् । यसरी मूल्य बढाबढ हुँदा तराईमा चालु आर्थिक वर्षको लागि सरकारले नै करोड बढी मूल्य तोकेका १० वटा शहर मध्ये जनकपुरधाम र वीरगञ्ज पनि परेको छ । जहाँ प्रति कट्ठा सरकारी मूल्य नै एक करोडदेखि तीन करोडसम्म कायम गरिएको छ ।
जनकपुर
प्रदेश २ को राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि सरकारी मूल्य प्रति कट्ठा एक करोड १० लाख रुपैयाँ तोकिएको छ ।
वडा नम्बर ११ अन्तर्गत जनक चोकदेखि जानकी मन्दिर हुँदै पुरानो बसपार्कसम्म सडकको दायाँबायाँका जग्गाको न्यूनतम मूल्यांकन प्रतिकट्ठा एक करोड १० लाख रुपैयाँ तोकिएको हो । घरजग्गा कारोबार अत्यधिक हुन थालेपछि पछिल्लो समय न्यूनतम मूल्यांकन वृद्धि हुने क्रम तीव्र छ ।
२ वर्ष अघिसम्म ७०/७५ लाख रुपैयाँ न्यूनतम मूल्यांकन तोकिएका ठाउँमा अहिले एक करोड १० लाख रुपैयाँ पुगेको छ । जनकपुरधाममा चालु वर्षका लागि जग्गाको मूल्यांकन ५ प्रतिशतले वृद्धि गरिएको छ ।
वीरगंज
चितवनपछि सर्वाधिक महँगो जग्गा वीरगंज महानगरपालिकामा छ । जहाँ सरकारी मूल्यांकन नै प्रतिकट्ठा २ करोड रुपैयाँ छ । महानगरपालिकामा राजमार्गसँग जोडिएका मुख्य चोकहरुमा उक्त मूल्यांकन अनुसार घरजग्गा किनबेच हुने गरेका छन् ।
भानुचोक, घण्टाघर, अलखिया मठ, माइस्थान चोक, आदर्शनगर र बाइपास लगयतका ठाउँमा सडकसँग जोडिएका कित्ताको न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको छ ।
यो पनि गत वर्षकै न्यूनतम मूल्यांकन हो। अरु मालपोत जस्तै वीरगंजले पनि चालु वर्षका लागि न्यूनतम मूल्यांकन बढाएको छैन ।