सुरेन्द्र सिंह/ महोत्तरी : महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि सामुहिक बलात्कार भएको छ । घटनालाई मिलाउन स्थानीयदेखि केन्द्रीय नेताहरू समेत लागिपरेका छन् ।
गत साउन १० गते महोत्तरीको रामगोपालपुर नगरपालिका ५ की एक ३५ वर्षीय बोल्न नसक्ने महिलामाथि स्थानीय दुईजना युवाले बलात्कार गरेका थिए । तर घटना भएको दुईसाता बित्दा समेत प्रहरी प्रशासनले बलात्कारका आरोपीहरूलाई पक्राउ गरेको छैन ।
बलात्कारमा संलग्न र निजका आफन्तहरूले पैसा र राजनीतिक शक्ति दुरुपयोग गरी घटना मिलाउन खोजेको स्थानीयले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न युवकहरूको कपडा र मोबाइल बरामद गरेको छ ।
स्थानीय २६ वर्षीय जितु मण्डल र २६ वर्षकै स्थानीय खुर्के मुखियाले बलात्कार गरेको प्रहरी कार्यालय रामगोपालपुरले जानकारी दिएको छ । गएको साउन १० गते राति करिब ९ बजे घर नजिक चौरमा शौच गर्न गएकी ती महिलालाई दुईजना युवकले रुमालले मुख बाँधेर उखुबारीमा लगि बलात्कार गरेको पीडितको संकेतिक भनाई रहेको छ ।
बलात्कार गर्ने क्रममा महिला चिच्याएपछि स्थानीयले थाहा पाएका थिए । महिला अचेत अवस्थामा फेला परेकी र दुवै युवक मोबाइल र कपडा छाडी भागेका थिए ।
घटनाको भोलिपल्टै पीडित महिलाले इलाका प्रहरी कार्यालय रामगोपालपुरमा दुई युवक विरुद्ध उजुरी दिएकी थिइन् । तर, हालसम्म प्रहरीले ती दुवै युवकलाई पक्राउ गर्न सकेको छैन । फरार भनिएका आरोपीहरू खुलेआम घुम्दा समेत प्रहरीले पक्राउ नगरेको एक स्थानीयले बताए ।
स्थानीयका अनुसार घटनालाई राजनीतिक शक्ति र पैसाको बलमा मिलाउने प्रयास गरिएको छ । त्यसैले, प्रहरीले समेत घटनामा संलग्नलाई पक्राउ गर्न चासो देखाएको छैन,’ एक स्थानीयले भने । उनका अनुसार युवक खुलेआम घुमिरहेको जानकारी गराउँदा समेत प्रहरीले कुनै वास्ता गरेका छैन ।
घटनालाई सामसुम पार्न बलात्कारमा संलग्न युवकद्वयका अभिभावकहरू रामगोपालपुर वडा नम्वर ५ का वडाअध्यक्षसँग सल्लाह लिएको खुलेको छ । वडाअध्यक्षले ६ लाख रुपैयाँ दिए घटना मिलाउन सकिने र बलात्कारमा संलग्नहरूमाथि पनि कुनै कारबाही नहुने बताएको स्थानीयले जानकारी दिएका छन् ।
घटना मिलाउने विषयमा आफूलाई केहि थाहा नभएको र बलात्कारमा संलग्न दुवै युवा फरार रहेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले बताए ।
उनले भने, ‘घटना मिलाउने विषयमा हामीलाई केहि थाहा छैन । घटनास्थलबाट बरामद भएको कपडा र मोबाइलसहितको प्रमाण जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइसकेका छौं । पीडितले दर्ता गराएको उजुरी पनि उतै कारबाहीको लागि पठाएका छौं । दोषहरूमाथि कारबाही हुन्छ ।’