सन्तोष यादब/ जनकपुरधाम : शनिवार काव्या अस्पतालमा उपचारको क्रममा जनकपुरधाम उपमहानगपालिका १६ का ४३ वर्षीय सोहन ठाकुरको ज्यान गयो । चिकित्सकले उनमा कोरोना संक्रमणको आशंका गरे ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक टोली आएर मृतकको स्याब संकलन गरियो । उनको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आइसकेको छ । रिपोर्ट साँझ ७ बजेर २३ मिनेटमै आएको छ । मृतकको स्याम्पल नम्बर डिएच १५०२०९ रहेको छ । स्याब संकलन भने शुक्रवार विहान ११ बजेर ४७ मिनेटमा भएको थियो ।
तर रिपोर्ट पोजेटिभ आएको विषयमा सम्बन्धित निकाय मात्र नभएर आफ्न्त र उपचारमा संलग्न डाक्टर तथा अस्पताल समेत अहिलेसम्म अनभिज्ञ छ । रिपोर्ट आएको १८ घण्टाभन्दा बढी भइसक्दा पनि सरोकारबालाहरुले त रिपोर्ट आउन अझै समय लाग्ने बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मृतक ठाकुरको रिपोर्ट नआएको बताए । रिपोर्ट त आइसक्यो प्रश्न गर्नै लाग्दा उनले फोन काटे ।
लगत्तै सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय झालाई सम्पर्क गर्दा उनले पनि अनभिज्ञता जनाए । उनले भने, ‘रिपोर्ट अहिले आएकै छैन । अहिले समय लाग्छ ।’
त्यसपछि काव्य अस्पताल पुगेर प्रशासन प्रमुख सन्तोष सिंहसँग बुझ्दा उनले पनि मृतकको पिसिआर रिपोर्ट नआएको बताए । उनले डाइविटिजका कारण मृत्यू भएको दावी गरे । उनले भने, ‘कोरोनाको पनि शंका लागेपछि पिसिआर परीक्षण समेत गरिएको छ । तर रिपोर्ट आउँन बाँकी छ ।’
रिपोर्ट पोजेटिभ त आइसक्यो भनेर प्रश्न गर्दा उनले भने, ‘अहिलेसम्म आधिकारिक जानकारी कसैले गराएका छैन ।’ उनले मृतकको रिपोर्ट पोजेटिभ आएको जानकारी आधिकारिक रुपमा पाएपछि आवश्यक सुरक्षा सतर्कता अपनाइने बताए ।
स्रोतका अनुसार मृतकलाई शुक्रवार नै दाहसंस्कार गरिसकेको छ । कोरोनाको शंका लागेपछि मृतकको शव तत्काल अस्पतालमै राख्नुपर्थ्यो । किनकी कोरोनाबाट मृत्यू भएमा शव व्यवस्थापन नेपाली सेनाले गर्छन् । तर मृतकका शव उनकै आफ्न्तले व्यवस्थापन गरेका कारण उनीहरुमा पनि संक्रमण फैलिएको हुनसक्छ ।
मृतकको रिपोर्ट पोजेटिभ आएको कुरा उनका आफ्न्तले समेत अहिलेसम्म थाहा पाएका छैन ।
यसअघि पनि यस्तो घटना घटिसकेको छ । जनकपुरको विनय तारा फाउन्डेशन क्यान्सर सेन्टरका गार्ड करिब ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यू भएको २४ घण्टापछि पुष्टि भएको थियो । तर रिपोर्ट आउनु अगावै उनको दाहसंस्कार आफ्न्तले नै गरेका थिए ।
प्रशासनको चरम लापरबाही
‘मृत्युपछि गरिएको पिसिआर परीक्षणको रिपोर्ट आइसकेपनि कैयौं घण्टा गोप्य राख्नु प्रशासनको चरम लापरबाही हो’, प्रादेशिक अस्पतालका एक डाक्टरले भने, ‘समयमै रिपोर्टबारे सम्बन्धित पक्षलाई जानकारी गराउँदा सचेत हुनसक्छ । तर यसो नगर्दा संक्रमण झन झन बढ्दै गएको छ ।’
उनी भन्छन्, ‘मृतकको रिपोर्ट पोजेटिभ आयो भनेर जानकारी गराउँदा उनको उपचारमा संलग्न चिकित्सक पनि सतर्कता त अपनाइथ्यो । अन्य विरामीलाई त जाँच्दैन्थ्यो । तर रिपोर्ट ढिलो दिदा ति डाक्टरले कैयौं विरामीलाई जाचिसकेको हुन्छ । अनी ति विरामीहरुलाई पनि त कोरोना लाग्छ नी ।’
- थाहा खबर