टुडेखोज/ जनकपुरधाम : जयनगर–जनकपुर रेल सेवा संचालनका लागि अर्डर दिएको ‘ट्रेन सेट’ डेलिभर गरिदिन नेपाल रेलवे कम्पनीले भारतीय कम्पनीलाई पत्राचार गरेको छ ।
कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले दुवै ‘ट्रेन सेट’ डेलिभरी गरिदिन पत्राचार गरेको जानकारी दिए । उनका अनुसार नेपाल सरकारले गत वर्ष नै चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो । सो कम्पनीले ट्रेन सेट सात महिना अगाडी नै तयार पारिसकेको छ ।
अहिले उक्त ट्रेन सेट सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका बताइएको छ । महाप्रबन्धक भट्टराइले भारतीय कम्पनीले ट्रेन सेट लैजान पटक पटक भनिसकेकाले अब चाँडै भित्र्याउने बताए । कहिले सम्भव हुन्छ पठआउनुस् भन्दै पत्र पठाइसक्यौं– उनले थपे ।
उनले कुनै प्राविधिक समस्या आए असोज पहिलो सातासम्म भए पनि रेल ल्याइने दाबी गरे । नेपालमा ल्याएई परीक्षण गरेर मात्रै औपचारिक रूपमा जिम्मा लिइने उनको भनाई छ ।
नेपालले करिव ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गरिएको छ । ट्रेन सेट ल्याएर सुरूमा जयनगरमा राखिनेछ । त्यहाँ पार्किङ स्टेशन बनाइएको छ । दिनभर संचालन गरेर राख्नका लागि जयनगरमा पार्किङ स्टेशन बनाइएको महाप्रबन्धक भट्टराइले जानकारी दिए ।
रेल सेवा सञ्चालनका लागि २६ जना प्राविधिक पनि भारतबाटै आउने बुझिएको छ । बाँकी आवश्यक संख्यामा कर्मचारी भर्नाका लागि आगामी साता सूचना निकाल्ने तयारी भइरहेको छ । तर कोभिड संक्रमण फैलन रोक्न सरकारले लकडाउन जारी गरेका कारण प्रक्रिया अगाडी बढाउन ढिलाइ भएको हो ।
भारतको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग भारतले आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिदिन लागेको छ । जयनगरदेखि जनकपुर करिब ३४ किलोमिटर रेलमार्ग तयार भइसकेको छ । सुरूमा यही खण्डमा रेल संचालन गरिनेछ ।