टुडेखोज/ मोरङ : बिरामी बोक्ने एम्बुलेन्स प्रयोग गरी एक युवकले अन्य दुई जनासँग मिलेर आफ्नै बहिनीको अपहरण गरेको खुलेको छ ।
अपहरण गर्ने मोरङ पथरीशनिश्चरे ८ का २१ वर्षीय सुजन रणपहेली, पथरीशनिश्चरे ६ का २२ वर्षीय रमण आचार्य र मोरङ सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । आचार्य र तामाङ एम्बुलेन्स चालक हुन् । सुजन रणपहेली भने मुख्य अपहरणकारी रहेको प्रहरीको दावी छ ।
रणपहेलीले १४ वर्षीया बालिकालाई पथरीबाट दुई वटा एम्बुलेन्स प्रयोग गरी काठमाडौ लाँदै गर्दा काभ्रेपलान्चोकको साँगा भञ्ज्याङ्बाट पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।
रणपहेली किशोरीका काका नाता पर्ने व्यक्ति हुन् ।
यस्तो छ कहानी
१६ भदौ २०७७ सोमबार छोरी हराएको भनि अपहरित बालिकाका परिवारले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए ।
आइतबार अपहरित बालिकाको आमाले पथरीको माइक्रो फाइनन्सबाट २ लाख झिकेकी थिइन् । रकम निकाल्नका लागि आफन्तसँग फोनमा कुरा भएको अपहरण गर्न संलग्न मुख्य नाइके रणपहेलीले सुनेका थिए । रणपहेली परिवारको पिच्छा गर्दै गए ।
आमालो पैसा राख्नका लागि छोरीलाई दिएकी थिइन । रणपहेली मंगलबार बिहान ४ बजे घरमा आएर बालिकाको मुख थुनेर त्यो दुई लाख रुपैयाँ बोकेर हिँड्न भने । र नहिडे आमासहितका परिवार सबैलाई मारिदिने धम्की दिएपछि बालिका रकम बोकेर उनीसँगै हिडेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गिरीले बताए ।
नगदसहित बालिका लिएर रणपहेली मंगलबारे चोकबाट को २ च २८८२ नम्बरको एम्बुलेन्स चढेर इटहरी पुगेका थिए । त्यहाँबाट अर्को को २ च ३१२१ नम्बरको एम्बुलेन्सबाट ती बालिकालाई लिएर रणपहेली काठमाडौं तिर गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
काभ्रेपलाञ्चोकको साँगा भञ्ज्याङ्बाट फेरी उनीहरु पहिलाकै को २ च २८८२ नम्बरको एम्बुलेन्समा काठमाडौं जाँदै गर्दा दुई वटै एम्बुलेन्सलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सलाई पथरीबाट काठमाडौं पुग्ने भाँडा २०–२० हजार दिने सर्तमा लगेको प्रहरीले जनाएको छ ।
एउटै एम्बुलेन्समा काठमाडौंसम्म जाँदा प्रहरीले शंका नगरोस भनेर दुई वटा एम्बुलेन्सको प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
को २ च २८८२ नम्बरको एम्बुलेन्स चालक पथरीशनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र को २ च ३१२१ नम्बरको एम्बुलेन्स चालक सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन् ।
नियन्त्रणमा लिइएका तीनै जनालाई अपहरण तथा ज्यान मास्ने र बेच्ने मुद्दामा शुक्रबार म्याद थप गरिएको गिरीले बताए ।