काठमाडौं : कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याएको आरोपमा शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले राखेको पाँच प्रतिशत बैंक धरौटी जफत गर्ने निर्णय गरेको छ । कम्पनीको आइतबार बसेको बैठकले दुवै कम्पनीले ठेक्का सम्झौता गर्दा राखेको धरौटी रकम जफत गर्ने निर्णय गरेको हो ।
शैलुङले चार लाख ४०२ अमेरिकी डलर र होनिको मल्टिपलले तीन लाख ७७ हजार ३७५ डलर रकम धरौटी राखेका थिए । त्यसबेलाको प्रचलित डलरको दरअनुसार शैलुङको चार करोड ८८ लाख ४९ हजार ४४ र होनिकोको चार करोड ५६ लाख ६२ हजार ३७५ नेपाली रुपैयाँ जफत भएको कम्पनीले जनाएको छ । दुवैको जोडेर ९ करोड ४५ लाख ११ हजार ४१९ रुपैयाँ धरौटी हुन आउँछ ।
ठेक्का सम्झौता भएको चार महिना बित्दा पनि दुवै कम्पनीले मल ल्याउने मनसाय नदेखाएपछि कारबाही स्वरूप धरौटी जफत गरिएको कम्पनीका प्रवक्ता राजेन्द्रप्रसाद पोखरेलले बताए । ‘बाँकी के कारबाही गर्ने भन्ने कुरा कानुनी राय लिएपछि टुंगो लाग्ने छ,’ पोखरेलले भने ।
दुवै कम्पनीले शुक्रबार मल ल्याउन लागिरहेकाले भन्दै ठेक्का सम्झौताको समय थप्नुपर्ने प्रस्ताव राखेका थिए। कम्पनीले उनीहरूले मल ल्याउन खोजे नखोजेको, उनीहरूले चालिरहेको प्रक्रिया, कागजात र परिस्थितिहरू जाँच गर्यो । ‘यसरी उहाँहरूको गतिविधिहरू, कागजातहरू, प्रक्रिया हेर्दा मल ल्याउने सम्भावना नदेखिएपछि हामीले बाध्यात्मक रुपमा धरौटी जफत गर्ने निर्णय गरेका हौं,’ पोखरेलले भने ।
दुवै कम्पनीले मल आपूर्ति गर्ने अन्तिम समय भदौ २० गते थियो। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार उनीहरूले अहिलेसम्म एक बोरा मल नेपाल ल्याउन सकेको देखिएन । यी कम्पनीले मल ल्याउन नसकेकै कारण सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल पैंचोमा माग्नु परेको थियो ।
दुवै कम्पनीसँग २५/२५ हजार मेट्रिक टन युरिया मल ल्याउने गरी सम्झौता थियो । सिजन सकिएपछि पाएको मलको महत्व नरहने भएकाले अहिले यी कम्पनीले धरौटीबापत राखेको पाँच प्रतिशत रकम जफत गरिएको हो ।
शैलुङ इन्टरप्राइजेज नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो भने होनिको हुमनाथ कोइरालाको । शैलुङ निर्माण क्षेत्रमा काम बिगार्ने कम्पनी हो । कोइरालाको होविको भने यही मल प्रकरणमा विवादमा आएको कम्पनी हो ।
शैलुङसँग वैशाख १२ गते र होनिकोसँग १५ गते मलको ठेक्का सम्झौता भएको थियो । वैशाख १२ गते सम्झौता भए पनि एलसी ९प्रतितपत्र० खोलेको मितिदेखि लागू हुनेगरी उनीहरूलाई ११७ दिनको समय दिइएको थियो ।
सबैभन्दा कम कबोल गरेपछि होनिकोसँग प्रतिटन ३०९। ९ अमेरिकी डलर र शैलुङसँग प्रतिटन ३२०।२५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । कृषि सामग्री कम्पनी लिमिटेडकै भनाइमा पुस २७ र माघ ४ गते नै टेन्डर आह्वान गरिएको थियो । ठेक्काको बोलपत्रको समय ४६ दिन तोकिएको थियो ।
दुई टेण्डरमा पचास हजार मेट्रिक टन मल आयात गर्नुपर्ने थियो । तर, यो समय सकिँदा मुलुकमा कोरोनाका कारण लकडाउन सुरू भयो । प्रक्रियागत रूपमा चैत दोस्रो साता टेन्डर लगाइसक्नु पर्ने थियो । लकडाउन सुरू भएपछि चैतभरि त कर्मचारी कार्यालयमै गएनन् ।
वैशाख पहिलो साता बितेपछि कम्पनीले मल ल्याउनका लागि फेरि प्रक्रिया थालेको थियो । ठेक्का प्रक्रियामा कम कबोलेपछि यी दुई कम्पनीलाई मल ल्याउने जिम्मा दिइएको थियो ।
- सेतोपाटीबाट