बीबीसी : राम्रोसँग हावा भित्रबाहिर गर्न सक्ने (भेन्टिलेसन) गरी बनेका कोठामा मानिसले बढी समय बिताउन सक्छन् । हामी महिनौंदेखि हात धुने र सामाजिक दूरी कायम गरेर कोरोनाबाट बच्न सकिने कुरा बताउँदै आइरहेका छौं । तर वैज्ञानिक र इन्जिनियरहरुले विद्यालय र कार्यालयभित्र हामीले स्वास फेर्ने हावाले पनि संक्रमणमा असर पर्ने बताएका छन् । यसमा स्तरीय भेन्टिलेसनको महत्व बढी हुने देखिएको छ ।
जब तपाईं कोठाभित्र हिँड्नुहुन्छ तब बासी हावा पाउनुहुन्छ भने भेन्टिलेसनमा केही खराबी रहेको बुझ्नुहुन्छ। स्वच्छ हावा नहुँदा कोरोना संक्रमण फैलन पाउने सम्भावना अधिक हुन्छ । ताजा शोधले हावाबाट पनि संक्रमण फैलने सम्भावना देखाइसकेको छ, हावामा भाइरसका साना कण अड्किरहेको हुन सक्छ । कोरोना कहरअघि मानिसले प्रतिसेकेन्ड १० लिटर स्वच्छ हावा पाउनुपर्ने बताइन्थ्यो, अब त्यो परिमाण वृद्धि भएको छ ।
कुनै पनि स्थानमा पर्याप्त संख्यामा मानिस रहन्छन् भने बेलाबेला त्यहाँबाट निस्केर खुल्ला ठाउँमा जानुपर्ने बताउँछन् चार्टर्ड इन्स्टिच्युसन अफ बिल्डिङ सर्भिसेजका प्रविधि निर्देशक डा. हाइवेल डेभिस । उनका अनुसार स्वच्छ हावाको प्रवाह हुनु अनिवार्य छ । ‘यदि तपाईंले बिल्डिङमा कोही संक्रमित भेट्नुभएको छ र तपाईं कतै स्वच्छ हावा भएको ठाउँबाट फर्कनुभएको छ भने भाइरसले प्रवेशको अवसर कममात्रै पाउँछ। स्वच्छ हावा खाएर आएको मानिसमा संक्रमण छ भने पनि उसले अरुलाई सार्ने सम्भावना कम हुन्छ,’ उनी भन्छन् ।
अचेल कार्यालय, विद्यालय, पसल तथा होटेल–रेस्टुराँ जहाँ पनि एयर कन्डिसन राखिएको हुन्छ । तर त्यसको युनिट हेर्न भुल्नुहुन्न । पातलो र सेतो बाकस भित्तोमा या छतमा कतै राखिएको हुन्छ, जसलाई स्प्लिट एयर कन्डिसनर भनिन्छ । यसले कोठाबाट हावा खिच्छ र चिसो बनाइदिन्छ, अनि पुनः बाहिर फाल्छ । अर्को शब्दमा यसले हावालाई रिसर्कुलेट ९पुनःवितरण० मात्रै गर्छ । यसले छोटो समयका लागि त्यस कोठामा आउनेलाई केही फरक पर्दैन, तर घण्टौंसम्म बसेर काम गर्नेलाई भने समस्या निम्त्याउँछ ।
चीनको एक रेस्टुराँमा यस्तोखालको एयरकन्डिसनरले भाइरस फैलाएको एक अध्ययनले देखाएको थियो । उक्त रेस्टुराँमा कोरोनाको सामान्य लक्षण भएको मानिसबाट अन्यमा फैलिएको आरोप लगाइएको छ । उसले अन्य नौ जनालाई कोरोना संक्रमित पारेको थियो । यदि रेस्टुराँमा मज्जाले हावा खेल्ने व्यवस्था गरिएको थियो भने यति संख्या संक्रमण फैलँदैनथ्यो ।
आधुनिक भवन निर्माणमा झ्याल कहाँ राख्ने, कुनबाट स्वच्छ हावा आउँछ भन्ने विषयमा ध्यान दिइन्छ । अचेल भित्रको बासी हावा बाहिर निकाल्नका लागि पाइप राख्ने र बाहिरबाट ताजा हावा भित्र पस्ने प्रविधि अपनाइन्छ । छतमा एयरकन्डिसनर राखेर पनि यसो गर्न सकिन्छ । कोरोना संक्रमणका कारण विशेषज्ञहरु ताजा हावाको आपूर्तिमा ध्यान दिन सल्लाह दिइरहेका छन् । ‘बाहिरको हावा शतप्रतिशत वा त्यसको करिब हुनु राम्रो कुरा हो,’ लिड्स युनिभर्सिटीका प्राध्यापक क्याथ नोएक्स भन्छन्, ‘भवनमा जति बढी स्वच्छ हावा, उति नै संक्रमण फैलने जोखिम कम ।’
आधुनिक भेन्टिलेसन सिस्टममा फिल्टर हुने गर्छ, तर ती प्रमाणित नहुन सक्छन् । अमेरिकाको ओरेगन हेल्थ एन्ड रिसर्च युनिभर्सिटी हस्पिटलका अनुसन्धाताका अनुसार स्तरीय भेन्टिलेसनका त्यस्ता फिल्टरमा भाइरसका किटाणु अड्कन्छन् । फिल्टर बेलाबेलामा परीक्षण गर्ने गरेमा संक्रमण कम हुने देखिन्छ । विशेषज्ञहरु बताउँदै आइरहेका छन् कि, स्वच्छ हावा मुख्य कारक हो ।
अहिले सुपरमार्केट, खाद्यउत्पादक कम्पनीलगायतका स्थानमा कसरी स्वच्छ हावा खेल्ने वातावरण बनाउने र मानिसलाई संक्रमणबाट जोगाउने भन्ने विषयमा वहस हुन थालेको छ । हावा चल्ने दिशाबाट पनि संक्रमण फैलने–नफैलने निर्धारण हुन्छ । संक्रमित मानिस भएको दिशाबाट हावा आइरहेको छ भने त्यसबाट जोगिनु आवश्यक हुन्छ । भवनहरु बनाउँदा हावा आउने र जाने बाटोबारे अब ध्यान दिनु जरुरी छ ।