किसन साह/ जनकपुरधाम : धनुषामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दा करोडौं रुपैया राजश्व संकलन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार गत आर्थिक २०७६/२०७७ मा २७ हजार ६ सय ८५ सवारी साधन कारबाहीमा परेको छ । ट्राफिक नियमको उल्लंघन गर्दा कारबाहीमा परेका सवारी धनीबाट १ करोड ८२ लाख १२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्षमा २ हजार २ सय बस, ७ हजार ३८१ ट्रक, १ हजार ५७८ ट्याक्टर, ४ हजार ११ जिप/कार र ११ हजार ९१० मोटरसाइकललाई कारबाही गरिएको ट्राफिक प्रमुख तथा इन्सपेक्टर पशुराम घिमिरेले जानकारी दिए ।
उनका अनुसार बसबाट १५ लाख ५७ हजार, ट्रकबाट ५२ लाख २० हजार, ट्याक्टरबाट ९ लाख ९७ हजार ५ सय, जिप/कारबाट २५ लाख ११ हजार ५ सय र मोटरसाइकलबाट ७६ लाख २० हजार रुपैया राजश्व संकलन भएको छ । यस्तै ५ सय ८८ अन्य सवारीबाट ३० हजार ६ सय रुपैया राजश्व संकलन भएको छ ।
यस्तै चालु आर्थिक वर्ष २०७७/२०७८ को साउन मसान्तसम्ममा १ हजार ८ सय ७६ सवारी साधन कारबाही पर्दा ११ लाख ९८ हजार रुपैया राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्ष २०७६/२०७७ मा २४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको ट्राफिक इन्सपेक्टर घिमिरेले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएकामध्ये १७ वटा चारपाङ्ग्रे र ७ वटा मोटरसाइकल छन् ।
यस्तै २०७७/२०७८ मा कुल १३ वटा सवारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये ६ वटा चारपाङ्ग्रे र ६ वटा मोटरसाइकल रहेको छ । नियन्त्रणमा लिएका गाडीहरुको कागजात नरहेका कारण लिलाम गरिएको छ ।