टुडेखोज/ लहान : सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगको गेट अगाडी प्रदर्शन भएको छ । सिमेन्ट उद्योगले अत्यधिक प्रदुषण गरिरहेको भन्दै संघर्ष समिति बनाएर स्थानीय आन्दोलनमा उत्रेका हुन् ।
सोमवार सयौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरे । उनीहरूले ुसार्वजनिक जग्गा फिर्ता गर, धुवाँ धुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता देु लगायतका नारासहित प्रदर्शन गरेका छन् ।
उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने करिब चार बिघा वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको स्थानीयको आरोप छ । जग्गा अतिक्रमण मात्रै होइन, सिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन् ।
उद्योग परिसरमै रहेको शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादियुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको स्थानीय बताउँछन् ।

उधोग र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौं गाउँका लाखौं जनता प्रत्यक्ष रुपमा प्रभावित छन् । यहाँका स्थानीयहरुले जग्गा अतिक्रमण तथा प्रदुषण रोक्न निरन्तर रुपमा आवाज उठाउँदै आएपनि उधोगले टेरेका छैन ।
उधोगले केहि नेता तथा यहाँका जनप्रतिनिधिकै मिलेमतोमा अर्थात् शक्तिको आडमा मनमोमानी गरिदै आएको छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत मंगलबार हड्पिएको सार्वजनिक जग्गामा प्रदर्शन गर्ने कार्यक्रम रहेको समितिका संयोजक तथा तत्कालीन राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका चिरञ्जीवी यादवले जानकारी दिए । उद्योग नसच्चिएसम्म आन्दोलन जारी रहने उनले चेतावनी समेत दिए ।