दोहा : साउदी अरबमा करिब १२ सय नेपाली मजदुर अलपत्र परेका छन् । अलपत्र पर्नेमा ९ सय पुरुष र ३ सय महिला रहेको बताइएको छ ।
साउदी अरबको रियादस्थित समास्को सप्लाइ कम्पनीमा काम गर्ने कामदारहरूको करार अवधि सकिएको ७ महिना हुँदा पनि कम्पनीले चासो नदेखाएको र घर फर्किन पनि नपाएको नेपाली मजदुरहरुले पीडा पोखेका छन् । समस्याबारे रियादस्थित नेपाली दूतावासमा पुगेर सहयोग माग्दा पनि सुनुवाइ नभएको उनीहरुको आरोप छ ।
अलपत्र परेका मजदुरहरु नेपाल सरकार र नेपाली दूतावासविरुद्ध चर्को नाराबाजी गरेका छन् । भिसाको म्याद सकिएका करिब ६ सय जना नेपाली स्वदेश फर्किन पाएका छैन । उनीहरु स्वदेश फर्किने दिनको पर्खाइमा छन् । उनीहरुलाई खान र बस्न समेत समस्या भएको छ ।
अन्य मजदुरहरु सप्लाइ कम्पनीले लिएको कन्ट्र्याक्टमा काम नभएपछि लामो समयदेखि कोठामै बस्न बाध्य छन् । काम गरिरहेका मजदुरहरू पनि तलब कटौति भएको गुनासो गरेका छन् ।
घरबाट पैसा मगाएर स्वदेश फर्किन्छौँ भन्दा पनि नेपाल सरकारले उडानको व्यवस्था गर्न नसकेको र दूतावासले पनि चासो नदेखाएको उनीहरूको आरोप छ । कम्पनीले चार्टर उडान गर्न दूतावाससँग समन्वय गरे पनि दूतावास र कम्पनीबीच तालमेल नमिल्दा पटक पटक उडान स्थागित भएको छ ।

लामो समयसम्म कोठामा बस्दा धेरै साथीहरू डिप्रेसनको शिकार भएको र घर फर्किन नपाएका एक नेपालीले एक महिनाअघि आत्माहत्या गरेको एक नेपाली श्रमिकले बताए ।
नेपाली मजदुर एकता समाज साउदीले साउदी अरबमा अलपत्र हजारौँ नेपालीहरूले नेपाली दूतावास र नेपाल सरकार विरुद्ध नाराबाजी गरेको जनाएको छ ।
नेपाली मजदुर एकता समाजका एक प्रतिनिधिले उडानबारे नेपाल नेपाली दूतावास, मेनपावर कम्पनी तथा सम्बद्ध सरकारी निकायसँग जानकारी लिने प्रयास भइरहेको बताएका छन् ।